२०८३, कार्तिक १२ गते बिहीबार

नेपाल एयरलाइन्सले दुबईमा सातामा नाै उडान गर्ने

नेपाल एयरलाइन्सले दुबईमा सातामा नाै उडान गर्ने


  • मेरोभ्यूज
  • मंसिर १९, २०७८ आइतबार

  • नेपाल एयरलाइन्सले दुबईमा सातामा नाै उडान गर्ने

    काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आजदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो ।

    दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि सो अवसरमा सहभागिता थियो ।

    सो अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिए । उनले निगमका जहाज ग्राउण्डेड भन्दा आकासमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गरे ।

    निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाएकाे तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताए । दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सीलसिलामा रहेका नेपालीको बाहुल्यता छ ।

    यो गन्तव्यमा नेपाल एयरलाइन्सले यसअघि सातामा सात उडान गर्दै आएको थियो । थपिएको उडान साताको आइतबार र बुधधबार गरिनेछ । यो दिन दैनिक दुई उडान हुनेछ । काठमाडौँबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर साँझ काठमाडौँ नै फर्किने छ ।

    व्यापारिक हिसावले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ । एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले सातामा १४ उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सले हाल दोहामा पाँच उडान गरिरहेको छ ।

    नेपाल एयरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमकाअनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ । महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ ।

    नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन् ।


    प्रकाशित : आइतबार, मंसिर १९ २०७८०८:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार