२०८३, कार्तिक १३ गते शुक्रबार

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती


  • मेरोभ्यूज
  • कार्तिक ११, २०८३ बुधबार

  • बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

     

    स्याङ्जा । स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गरिएको छ ।

    धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन् । तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ ।

    वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिकरूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताए ।

    धान, मकैलगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए ।

    “गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ,” सञ्चालक पाठकले भने, “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, मागअनुसार बजारमा पुर्याउन सकेका छैनौँ ।”

    हाल दुई-तीन दिनमा करिब तीन सय किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ ।

    यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रा.लि., बुटवलस्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उनले बताए ।

    “खुर्सानी प्रतिकिलो रु. दुई सय २० का दरले बिक्री भइरहेको छ,” उनले भने, “यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ । बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ ।”

    पहिलो पटक व्यावसायिकरूपमा खुर्सानी उत्पादन गरिएकाले आगामी दिनमा खेतीको क्षेत्र विस्तार गर्दै लैजाने तयारी गरिएको छ ।

    वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना (हेफर)ले कृषि प्राविधिक, मल्चिङ प्लास्टिक, मल तथा सुकाउने मेसिन उपलब्ध गराएको छ ।

    “खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ । कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ,” उनले भने, “गर्न सकेको खण्डमा आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ ।”

    हालसम्म करिब रु. सात लाखको खुर्सानी बिक्री भइसकेको छ । फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ ।

    उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु फार्मकै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गरिदिने गरिएकाले व्यापारी तथा उपभोक्तालाई सहज भएको छ ।


    प्रकाशित : बुधबार, कार्तिक ११ २०८३११:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार