सप्तरी । सशस्त्र प्रहरी बलको एपिएफ स्कुलको सप्तरीस्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको आज उद्घाटन गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज एक समारोहबीच उद्घाटन गरे ।
कीर्तिपुर र कोहलपुरपछि सप्तरीको शम्भुनाथमा निर्माण गरिएको सशस्त्र प्रहरीको आवासीय विद्यालय प्रदेश १ र २ लाई पायक पर्ने गरी बनाइएको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए । खनालले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भए सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र विकास हुने बताए ।
सशस्त्र प्रहरी बललाई विद्यालय निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले आठ बिघा ११ कट्ठा जग्गा उपलब्ध गराएका हुन् । “ढुङ्गा खोज्दा देउता मिल्यो”, महानिरीक्षक खनालले भने, “जग्गा खोजिरहेका बेला मनकारी भगतजीले चाँडो स्कुल बनाउने हो भने जग्गा दिन्छु भन्दै आउनुभयो ।”
आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि छ करोड ५१ लाख खर्च भएको बताए । छात्रावास, मेस, ब्यारेकका लागि रु सात करोड ४९ लाखको काम भइरहेको छ ।
विद्यालयमा प्रहरी परिवारका बालबालिकाका साथै अशक्त, असहाय, गरिब सर्वसाधारण नागरिकका बालबालिकालाई समेत अध्ययन गराइने सशस्त्र प्रहरी गण ६ का सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । सन् २००५ मा स्थापित नेपाल एपिएफ स्कुल प्रहरी बलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा विद्यालय सञ्चालन हुनेछ ।

