२०८३, कार्तिक १२ गते बिहीबार

प्रदेश अधिवेशनका क्रममा सहिद तथा बेपत्ता परिवारका सदस्य र घाइते सम्मानित

प्रदेश अधिवेशनका क्रममा सहिद तथा बेपत्ता परिवारका सदस्य र घाइते सम्मानित


  • मेरोभ्यूज
  • मंसिर २५, २०७८ शनिबार

  • प्रदेश अधिवेशनका क्रममा सहिद तथा बेपत्ता परिवारका सदस्य र घाइते सम्मानित

    कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनका अवसरमा आज जनयुद्धका सहिद, घाइते तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान गरिएको छ ।

    पार्टी स्थायी कमिटीका सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देव गुरुङ, शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल र राष्ट्रियसभामा माओवादी दलका नेता दीनानाथ शर्मालगायतले जनयुद्धका प्रथम सहिद गोरखाका दिलबहादुर रम्तेलका बुवा सेते रम्तेललगायत परिवारजनलाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरे ।

    लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनयुद्धका क्रममा उच्च योगदान गर्ने सहिद, घाइते, बेपत्ता तथा राज्यद्वारा यातना पाएकाहरूलाई सम्मान गरिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष हरि अधिकारीले बताए ।

    सो अवसरमा जनयुद्धमा गण्डकी प्रदेशबाट पार्टीको उच्च नेतृत्वबाट बलिदान गर्ने सहिद सुरेश वाग्लेका छोरा विकास वाग्ले, बेपत्ता योद्धा पूर्ण पौडेलका आमा मोतीमाया पौडेल, लामो समय जेल जीवन बिताउने झलकपाणि तिवारी, पुराना कम्युनिष्ट नेता पूर्णबहादुर गुरुङ, क्या पूर्णबहादुर राना (बाग्लुङ), डिल्लीजङ्ग गुरुङ र चन्द्रबहादुर जिसीलाई पनि सम्मान गरिएको थियो ।

    KD_Kaski-3.jpg

    यसैगरी जनयुद्धमा गोरखा जेल ब्रेकर कमला नहर्की, गजुरी सैन्य हिरासत ब्रेक गर्ने कृष्ण पन्त, जनयुद्धका घाइते गोमा अधिकारी र एकाघरका चार सहिद तनहुँका इन्दु अधिकारी, बालचन्द्र, कलावती र गजेन्द्र अधिकारीका परिवारजन सरोज अधिकारीलाई पनि प्रशंसापत्रबाट सम्मान गरियो ।

    पोखरा सभागृहमा मङ्सिर २६ गतेसम्म सञ्चालन हुने अधिवेशनले प्रदेशको नेतृत्व चयन गर्नेछ । अधिवेशनमा माओवादी केन्द्रका गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने शीर्षनेताहरूको उपस्थिति थियो । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक/एक जना गरी सात सदस्सीय पदाधिकारी सहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ ।

    प्रदेशको प्रथम अधिवेशन विशेषगरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रित रहेकाे बताइएकाे छ । अधिवेशनमा पालिकाहरूबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी रहेको प्रदेश सचिव देवेन्द्र पराजुलीले जानकारी दिए । 

    माओवादी केन्द्रको सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशको प्रथम अधिवेशनको आज एकैसाथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअलरूपमा उद्घाटन गरेका थिए । 


    प्रकाशित : शनिबार, मंसिर २५ २०७८०९:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार