२०८३, कार्तिक ११ गते बुधबार

विद्यालयले सञ्चालन गरेको कृषि फर्ममा शिक्षा मन्त्री पुगेपछि...

विद्यालयले सञ्चालन गरेको कृषि फर्ममा शिक्षा मन्त्री पुगेपछि...


  • मेरोभ्यूज
  • पौष १, २०७८ बिहीबार

  • विद्यालयले सञ्चालन गरेको कृषि फर्ममा शिक्षा मन्त्री पुगेपछि...

    काठमाडौं । ‘हरियो साग, लटरम्म गोल्भेडा, स्याउ, आरु, अलैचीका बोट । राति परेको तुसारो बोटमा सेताम्मे । केही खेत खनेर उब्जनीका लागि तयारी अवस्था । विभिन्न मौसमका विरुवाहरु लगाउन केही ‘ड्याङ’ खनेर राखिएको । कुनै चर्चित कृषि फार्मको महसुस ।’ 

    यो कुनै व्यक्तिले सञ्चालन गरेको फर्म नभएर सार्वजनिक विद्यालयले गरेको कर्म हो । निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरत रुपमा खटिएको छ बूढानीलकण्ठ माध्यमिक विद्यालय । ५ देखि १२ कक्षा सञ्चालन गरेको विद्यालयमा एक हजार १३५ विद्यार्थी छन् । 

    उनीहरु पनि विद्यालयको करेसाबारीमा काम गर्छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरेका छन् । 

    IMG_9027.JPG

    विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयमा आईटी, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मकसहित अध्ययन हुन्छ । ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनउपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । 

    देशकै उत्कृष्ट नतिजा ल्याउने दावी गरेको विद्यालयले डा महाविर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोवट बनाउने काममा अनुसन्धान गरिरहेको छ । विहीबार बिहान सोही विद्यालयको निरीक्षण गर्न गएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार आफ्नो पहिलो प्राथमिकता रहेको बताए । 

    IMG_9020.JPG

    विद्यालयले निर्वाहमुखी कृषि प्रणाली भन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने उनको सुझाव थियो । ‘विद्यालयको शैक्षिक गतिविधि राम्रो गरेको छ,’ उनले भने, ‘उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।’ 
    विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताए । ‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन,’ उनले भने, ‘तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भयौं ।’

    उनका अनुसार विद्यालयले रैथाने जातको विरुवाबाट उत्पादन थालेको छ । कृषि अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ता विद्यालयमै आएर अवलोकन गर्न पाउनेछन् ।

    IMG_9041.JPG

    विद्यार्थीलाई विरुवा रोप्ने र उब्जनी कसरी हुन्छ भन्ने सिकाउँछौं अनि विरुवा दिएर घर पठाउँछौं’ प्रधानाध्यापक आचार्यले भने । कक्षा ५ देखि १२ कक्षासम्म पढाइहुने विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप पनि सिकाइन्छ । निरीक्षणमा पुगेका शिक्षामन्त्री पौडेललाई विद्यार्थीले विज्ञान प्रयोगशाला बनाइदिन आग्रह गरेका थिए । 


    प्रकाशित : बिहीबार , पौष १ २०७८०८:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार