नुवाकोट । ‘जे गरौँ गज्जबले गरौँ’ भन्ने नाराका साथ नुवाकोटको बेलकोटगढी नगरपालिका–५ झिल्टुङमा ‘झिल्टुङ क्रसकन्ट्री दौड’को आठौँ संस्करणको प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तरर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडीसहित भेट्रान, खुला छात्र–छात्रा एवं स्थानीय महिला आमा समूह तथा पुरुष बा समूहसहितको विभिन्न १० विधामा प्रतिस्पर्धा गर्दै ‘धावक’हरूले अघिल्ला वर्षका कीर्तिमानी रेकर्ड तोडेका छन् ।
प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीका अनुसार १३ दशमलव पाँच किलोमिटर पुरुष खुलातर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका टङ्कबहादुर कार्की प्रथम, काठमाडौँका मिङ्मार सिङ्गी तामाङ दोस्रो र त्रिभुवन आर्मी क्लबका सुवास कार्की तेस्रो भए ।
तेह्र दशमलव पाँच किमी महिला खुलातर्फ खोटाङका प्रिया राई प्रथम, नेपाल पुलिस क्लबको राममाया बुढा दोस्रो र त्रिभुवन आर्मी क्लबको हुमी बुढामगर तेस्रो भए ।
यस्तै १३ दशमलव पाँच किमीको भेट्रान खुला पुरुषतर्फ दाङका भीमबहादुर गुरुङ प्रथम, धादिङका रैवतबहादुर दाहाल दोस्रो र नेपाल डाइनामिक क्लबका भीमबहादुर अवाले तेस्रो भए । सोही दूरीअन्तर्गत स्थानीय पुरुषहरूको प्रतिस्पर्धामा बिमल थापामगर प्रथम, सन्दीप राई दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए ।
प्रतियोगिताको छोटो दूरीतर्फ चार दशमलव पाँच किमी खुला १६ वर्षमुनिको छात्रातर्फ काठमाडौँका आयुष्मा आचार्य प्रथम, निला याख दोस्रो र कास्कीकी कविता मगर तेस्रो भए र सोही दूरीतर्फको खुला १६ वर्षमुनि छात्रतर्फ काठमाडौँका सनाम शेर्पा प्रथम, जयराम थापा दोस्रो र हरिचन्द्र तामाङ तेस्रो भए ।
चार दशमलव पाँच किमी स्थानीय छात्रतर्फ सुरज नेपाल प्रथम, सन्तोष तामाङ दोस्रो र गोकुल कुँवर तेस्रो भए भने छात्रातर्फ सकिना तामाङ प्रथम, सिलसिला कुँवर दोस्रो र कौशिला लामा तेस्रो भए ।
चार दशमलव पाँच किमी स्थानीय महिला आमा समूहतर्फ सनिता श्रेष्ठ प्रथम, कमला श्रेष्ठ दोस्रो र बिन्दा नेपाल तेस्रो भए भने स्थानीय ४५ वर्षमाथिका पुरुष बा समूहतर्फ मिठु नेपाल प्रथम, गोपी नेपाल दोस्रो र चन्द्रमान श्रेष्ठ तेस्रो भए ।
प्रतियोगिताको लामो दूरीतर्फ खुला महिला र पुरुषतर्फको विधामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार राशिसहितको सम्मानपत्र प्राप्त गरे ।
यस्तै बाँकी लामो दूरी र छोटो दूरीतर्फका विभिन्न आठ विधाका उत्कृष्ठ प्रतियोगिलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदान गरे ।
दौडमार्फत नुवाकोट र झिल्टुङलाई देशभर चिनाउन सहयोग पुगेको भन्दै आगामी संस्करणदेखि प्रतियोगितालाई परिमार्जनसहित थप परिस्कृत बनाउने नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।
नुवाकोटको दुईपिपल निवासी तथा एथ्लेटिक्स खेलाडी मोहन नेपालको परिकल्पनामा सात वर्षअघि बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा रहेको महादेव माविको आयोजनामा सुरु भएको प्रतियोगिता पछिल्लो समय सञ्चालनको जिम्मेवारी आफूहरूले लिएर पालिकास्तरीय खेलपर्वको रुपमा विकास गर्दै अघि बढेको आयोजक वडा नं ५ का वडाध्यक्ष मदन भुजेलले बताए ।
उनका अनुसार प्रतियोगिताबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरेअनुसार रसुवाको गोसाइँकुण्डभन्दा नुवाकोटको झिल्टुङ ‘पहाडी जीवन’का लागि उत्कृष्टस्थल हो भनेर बुझाउन सहयोग पुगेको छ ।
“अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीसहित स्थानीय छात्रछात्राको सहभागिताले धावक उत्पादन र खेल पर्यटनमा उल्लेख योगदान मिलेको छ”, वडाध्यक्ष भुजेलले भने, “स्थानीय आमा र बाहरूलाई दौडाउँदा समाज रुपान्तरण र परिवर्तनमा महिला–पुरुषबीचको समानता छाएको छ ।” यस वर्षको आठौँ संस्करणको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका राष्ट्रियस्तरका खेलाडीसहित दुई सयभन्दा बढी प्रतिस्पर्धीको सहभागिता थियो ।

