२०८३, कार्तिक १३ गते शुक्रबार

भोजपुरको हतुवागढीको बारीगाउँमा बिजुली पुगेपछि स्थानीय खुसी

भोजपुरको हतुवागढीको बारीगाउँमा बिजुली पुगेपछि स्थानीय खुसी


  • मेरोभ्यूज
  • माघ १९, २०८० शुक्रबार

  • भोजपुरको हतुवागढीको बारीगाउँमा बिजुली पुगेपछि स्थानीय खुसी

    भोजपुर । बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् ।

    रामबहादुर भन्छन्, “अहिलेसम्म चाहेर पनि हाम्रो गाउँमा विद्युत्को पहुँच पुगेको थिएन, गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरअन्तर्गतको हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट विद्युत् सेवा पुर्‍याएको हो ।

    विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएका छन् । मट्टितेलको टुकी बालेर जीवन बिताउन बाध्य गाउँलेको गाउँमा बिजुली आउँला भन्ने सपना अहिले आएर पूरा भएको वडाध्यक्ष प्रेम थापाले बताए । उनले भने, “दुर्गम गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य भए, तर अहिले गाउँमा पनि बिजुली पुग्न थालेकामा यहाँका जनतामा खुसी छाएको छ ।”

    जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् प्राधिकरण र ठेकेदारमार्फत विद्युतीकरणको क्रम चलिरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताए । उनले भने, “जिल्लाभित्रका नौवटै स्थानीय तहमा विद्युत्को पहुँच पुर्याउन प्राधिकरणले काम गरिरहेको छ ।”

    स्थानीय उत्पादनमा रहेको सिक्तेल खोला जलविद्युत् आयोजनाबाट भोजपुर सदरमुकाम र आसपासका करिब एक हजार चार सय घर परिवारमा मात्र विद्युत् सेवा पुगेकामा विसं २०६७ कात्तिक महिनाबाट विद्युत् प्राधिकरणको शाखा भोजपुरमा स्थापना भएसँगै विद्युतीकरणको काम सुरु भएको थियो ।

    भोजपुरमा हाल निजीस्तरका दुई वटा हाइड्रोपावर सञ्चालनमा रहेका छन् । भोजपुरमा हाल ८५ प्रतिशत विद्युतीकरण भइसकेको छ भने जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो र दक्षिणमा रहेको आमचोक गाउँपालिका क्षेत्रमा विद्युतीकरणको काम बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार अहिलेसम्म २४ हजार बढी घरधुरीमा विद्युत्को पहुँच पुगिसकेको छ ।


    प्रकाशित : शुक्रबार, माघ १९ २०८०११:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार