२०८३, कार्तिक १२ गते बिहीबार

आन्दोलनकारी संसद् भवन छिरेको विषयमा अनुसन्धान गर्न समिति गठन

आन्दोलनकारी संसद् भवन छिरेको विषयमा अनुसन्धान गर्न समिति गठन


  • मेरोभ्यूज
  • फाल्गुण १४, २०८० सोमबार

  • आन्दोलनकारी संसद् भवन छिरेको विषयमा अनुसन्धान गर्न समिति गठन

    काठमाडौं । नेपाल प्रहरीले लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गरिरहेका आन्दोलनकारी नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन छिरेका घटनाबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानविन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले जानकारी दिए ।

    समितिलाई घटनाका सम्बन्धमा सुक्ष्म तवरले अनुसन्धान गर्न निर्देशन दिइएको छ । समितिले जनप्रतिनिधिमुलक संस्था संसद् भवनको सुरक्षामा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीको सिफारिस गर्नुका साथै पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय सुझावसहितको प्रतिवेदन पेस गर्ने उनले जानकारी दिए । 

    लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गर्दै आएका आन्दोलनकारी आज अपराह्न निषेधित क्षेत्र तोडी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको २ नं गेटबाट भित्र प्रवेश गरेका थिए । संसद् भवन परिसर प्रवेश गरेका एक पुरुष र ४८ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    घटनालगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को सुरक्षा व्यवस्थाबारे गम्भीर चासो र असन्तुष्टि व्यक्त गरेका थिए । उनले घटनाबारे गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौँ उपत्यका प्रहरी प्रमुख दिपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई र काठमाडाैं का प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतसँग स्पष्टीकरण लिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरी संसद्को सुरक्षार्थ अर्को टोली खटाएको छ । 


    प्रकाशित : सोमबार, फाल्गुण १४ २०८००९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार