काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसदमा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताए ।
“जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास गर्ने उच्चतम् थलो हो, यसमा असहमति हुन सक्छन्, तर प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्ने हो, अवरोध गर्ने होइन”, उनले भने, “राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दा होइन, आफ्नो पार्टी फुट्यो भन्ने निउँमा यसरी महिनौँसम्म बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो ।”
प्रतिपक्षीले अनिश्चित ढङ्गले संसद्लाई बन्धक बनाउन लोकतन्त्र कमजोर हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले छिटोभन्दा छिटो प्रतिपक्षले संसद् सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए । एमालेको अवरोध कायम रहे अन्तर्राष्ट्रिय परम्परा र संसदीय मर्यादानुसार संसद्लाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
भट्टराईले संसद अवरूद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताए ।
‘लोकतन्त्रको मर्म विपरित, संविधानको विपरित त हुँदै हो। उहाँहरूले स्वीकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष। यसैलाई त उहाँहरूले जनताको बहुदलीय जनवाद भनेर स्वीकार गर्नुभएको छ। त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो’, उनले भने, ‘बैठकनै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो। संविधानलाई असफल पार्ने कुरा हो।’
उनले एमालेले अब पनि संसद बैठक सूचारू नगरे जनता आफैंले दण्डित गर्ने दावी समेत गरे। अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरूद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गरे।
गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाणनै संसद अवरूद्ध गरिरहनु रहेको उनको भनाई थियो। अध्यक्ष भट्टराईले संसदमा असहमती राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यहीँ भित्र तर्क वितर्क गर्ने रहेको बताए।
‘यसले पनि केपी शर्मा ओली गत पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा हुनुहुन्थ्यो। उहाँहरू अहिले पनि त्यसैमा हुनुहुन्छ। सरकारले अग्रसरता लिने भनेको त उहाँहरुलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ। त्यसलाई दण्डित गर्न मात्रै बाँकि छ। जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाई थियो,’ अध्यक्ष भट्टराईले भने।
अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए।

