२०८३, कार्तिक १२ गते बिहीबार

कटान रोकथाम गर्न पर्खाल

कटान रोकथाम गर्न पर्खाल


  • मेरोभ्यूज
  • जेठ २१, २०८१ सोमबार

  • कटान रोकथाम गर्न पर्खाल

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका-७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो ।

     सो योजना निर्माणका लागि रु नौ करोड ५६ लाखमा विसं २०७८ पुसमा रौताह-बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो ।

    कालीगण्डकीको कटानबाट उच्च जोखिम रहेको सो क्षेत्रमा एक सय ४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट नयाँ प्रविधिको हेभी पर्खाल र ३० मिटर ग्राभेटी प्रविधिको पर्खाल निर्माण गर्ने काम सकिएको रौताह-बिएनबी जेभीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए ।

    उहाँका अनुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी ३२, १६ र १२ एमएमको गोलाइ भएका रडहरू प्रयोग गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो पक्की पर्खाल निर्माण गरिएको छ । पर्खाल निर्माणका लागि कालीगण्डकी नदीलाई डाइभर्सन गरिएको थियो ।

    यो ठेक्कामार्फत यसअघि कालीपुल बसपार्कमा ८० मिटर लामो, आठ मिटर अग्लो ग्राभिटी र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो ।

     विसं २०८१ वैशाखसम्म ठेक्का सम्झौताको म्याद भए पनि २०८० चैतमै निर्माण सकिएको रौताह-बिएनबीका प्रतिनिधि श्रेष्ठले बताए ।

    परियोजनामार्फत करिब रु ४८ करोड लागतमा सञ्चालित सातमध्ये चारवटा योजना सम्पन्न भएका र थप तीनवटा सम्पन्न हुने चरणमा छन् ।

    परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको जानकारी गराए ।

    बेनी नगरपालिका-२ भसभसेस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा ७५ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्न रु दुई करोड ३० लाखमा ठेक्का लिएको हिमालयन कन्ट्रक्सनले दुई वर्षको काम चार महिनामै सकेको थियो ।

    पर्वतको जलजला गाउँपालिका-३ वारीबेनीमा रहेको कालीगण्डकी आमा समूहको भवन पछाडि ८४ मिटर लामो र आठ मिटर अग्लो पर्खाल बनाउन रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले सुरु गरेको चार महिनामै ९० प्रतिशत निर्माण सकेको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताए ।

    जलजला गाउँपालिका २ र ३ नं वडामा पर्ने बगरफाँटस्थित कालीगण्डकी किनारमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गर्न रु तीन करोड २० लाखमा माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

    जलजला-२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

    यो योजना निर्माणका लागि माछापुच्छ्रे निर्माण सेवाले रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    बेनी नगरपालिका-७ मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा दुई सय ६२ मिटर कम्पोजिट पर्खाल बनाउन रु १२ करोड ३७ लाखमा ठेक्का लिएको सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले बर्खाअघि नै निर्माण सकिने बताए ।

    बेनी नगरपालिका-९ गलेश्वरस्थित राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न भाग्यलक्ष्मी कन्ट्रक्सनले रु दुई करोड २५ लाखमा ठेक्का लिएको थियो ।

    राहुघाट नदी किनारमा पर्खाल निर्माण भइसकेको र कालीगण्डकी किनारमा दुई-तीन दिनमा सकिने निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

    सबै योजना निर्धारित समयभित्रै काम सकिएका र सम्पन्न हुने चरणमा रहे पनि भुक्तानी नपाउँदा समस्या भएको निर्माण कम्पनीका सञ्चालकले गुनासो गरेका छन् ।

     चालु आवमा रु नौ करोड विनियोजन भएको बजेट भुक्तानी भइसकेको र थप रु नौ करोड बजेट रकमान्तरणका लागि सङ्घीय अर्थ मन्त्रालयमा कागजात पेस गरेको परियोजनाका प्रमुख शाहीले बताए ।

    म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ ।

    परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष रु एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।

    बेनी नगरपालिका-४ सिङ्गा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आवमा बजेट प्रस्ताव गरिएको छ ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको जानकारी दिए ।


    प्रकाशित : सोमबार, जेठ २१ २०८१०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार