२०८३, कार्तिक १३ गते शुक्रबार

उद्यमशील मायादेवीको लोभलाग्दो तरकारी खेती

उद्यमशील मायादेवीको लोभलाग्दो तरकारी खेती


  • मेरोभ्यूज
  • आषाढ ७, २०८१ शुक्रबार

  • उद्यमशील मायादेवीको लोभलाग्दो तरकारी खेती

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेको छ ।

    विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी राईले दुई रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा तरकारी खेती गरेको छ ।

    उनी पशुपक्षी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेको हो । उनले भने, “गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएको छु । ”

    उनले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दै आएको बताए ।

    “मैले दुई वर्षअघिबाट व्यावसायिकरुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु”, उनले भने, “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन ।

    तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।

    ” विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिकरुपमा तरकारी खेतीमा लागेको उनको भनाइ छ । मेहनत गर्नसकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए ।

    “कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “तर हामीले व्यावसायिक बन्न चाहि सक्नुपर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्न छर छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु ।”

    उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या रहेको उनको बताए । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने व्यवासायी उद्यमी राईको भनाइ छ ।

     कृषिमा नै भविष्य देखेर व्यावसायिकरुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

    आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देशीय सहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिए ।

    “हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौँ” उनले भने, “एकल भएर पनि समाजमा उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ । सहरकारीमार्फत १४ टनेल निर्माण तरकारी खेतीको काम भइरहेको छ ।” उन्नत जातको बीउबिजन नपाउँदा भने समस्या हुने गरेको उनको भनाइ छ ।

    टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताए ।

    गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उनको भनाइ छ ।

    गाउँपालिकाको तर्फबाट विभिन्न वडाका किसानलाई आवश्यक सहयोग गरिरहेको उनले जानकारी दिए ।

    “हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ”, उपाध्यक्ष राईले भने, “गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौँ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

    किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

     कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, आषाढ ७ २०८१११:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार