२०८३, कार्तिक १२ गते बिहीबार

बाँकेको खजुरा गाउँपालिका-७ सिमालघारीमा कम्पोष्ट मलका लागि ढैंचाखेती

बाँकेको खजुरा गाउँपालिका-७ सिमालघारीमा कम्पोष्ट मलका लागि ढैंचाखेती


  • मेरोभ्यूज
  • आषाढ १४, २०८१ शुक्रबार

  • बाँकेको खजुरा गाउँपालिका-७ सिमालघारीमा कम्पोष्ट मलका लागि ढैंचाखेती

    बाँके । बाँकेको खजुरा गाउँपालिका-७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गरेका  छन् ।

     हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उनले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आएको हो ।

    ३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैँचाको बोटले माटोमा नाइट्रोजन स्थिरीकरण गर्नाका साथै प्राङ्गारिक पदार्थको मात्रा थप्ने हुँदा प्रत्येक वर्ष यो खेती गर्ने गरेको उनले बताए ।

     “यो लगाएपछि डिएपी मल लगाउनु पर्दैन”, उनले भने, “वर्षामा किसानलाई चाहिने भनेकै युरिया र डिएपी हो तर यो बेलामा समयमै मल पाइँदैन । त्यसको साटो ढैँचाले काम गर्ने हुँदा मैले यही खेती गर्ने गरेको छु ।”

    एक कट्ठामा तीन किलो डिएपी मल प्रयोग हुने ठाउँमा ढैँचाको बीउ डेढदेखि दुई किलो भए पुग्ने धनबहादुर योगीले बताए । उनले यो वर्षदेखि ढैँचाको बीउको मूल्य बढेको जानकारी दिए । “

    अघिल्ला वर्षहरुमा ढैँचाको बीउ खरिद गर्दा मैले रु ६० देखि ७० रुपैयाँसम्म तिरेको थिएँ,” उनले भने, “यो वर्ष एक केजी ढैँचाको बीउको भाउ रु एक सय पुगेको छ ।” धनबहादुर जस्तै सोही गाउँका गुमानसिंह गिरीले पनि चार वर्षदेखि १२ कट्ठा जग्गामा ढैँचाखेती गर्दै आएका छन् ।

     ढँैचाखेती गर्न थालेदेखि धान उत्पादन बढेको गुमान सिंहको अनुभव छ । “धानको बीउका लागि यो असाध्यै राम्रो मल रहेछ,” उनले भन्, “यस्को प्रयोग गर्न सुरु गरेदेखि धान बाली सप्रिएको त छँदैछ उब्जनी पनि बढेको छ ।”

     ढैँचा कम्पोष्ट मल भएको हुनाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । धनबहादुर र गुमान सिंह जस्तै सोही गाउँका टेकबहादुर योगीले पनि आफ्नो १६ कट्ठा जग्गामा विगत छ वर्षदेखि ढैँचाखेती गर्दै आएका छन् । ढैँचाको प्रयोगले जग्गालाई उर्वर बनाउनुका साथै धान उत्पादन बढेको उनले जानकारी दिए ।

    सरकारद्वारा प्रदान गरिने रासायनिक मल समयमा नपाइने झन्झटले ढैँचाखेतीप्रति गाउँका किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले माटो सुधारका लागि ढैँचाखेती निकै प्रभाकारी भएको बताए ।

    धान बालीलाई आवश्यक पर्ने कूल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको उनको भनाइ छ । माटोको सन्तुलन बिगँ्रदै गइरहेको अवस्थामा ढैँचाखेती किसानका लागि फाइदाजनक भएकाले यस वर्ष केन्द्रले पाँच क्विन्टल ढैँचाको मल वितरण गरेको प्रमुख अहमदले जानकारी दिए ।

    नेपालमा पाइने ढैँचाका जातहरु सेस्बानिया रोस्ट्राटा र सेस्बानिया क्यानाविना छन् । यस्लाई धान रोप्नु भन्दा ४५ दिनअगाडि ४० केजी प्रतिहेक्टर वा प्रति रोपनी दुई केजीका दरले खेत खनजोत गरी छर्नु पर्दछ ।

    यीमध्ये सेस्बानिया रोस्ट्राटामा काण्ड र जरा दुवैमा वायुमण्डलीय नाइट्रोजन सोसेर लिन सक्ने ‘राइजोबियम ब्याक्टेरिया’ भएको गिर्खाहरु हुन्छन् । जस्ले नाइट्रोजन स्थिरीकरणको मात्रा बढाउँछ ।

    ढैँचा लगाएको छ देखि सात हप्तामा फूल फल्ने अवस्था पछि खेतमा पानी राखी बोटलाई जोत्न सजिलो हुने गरी काट्ने र जोतेर माटोमुनि पारेर दबाएर राख्नु पर्दछ । यसरी सडाएर राखेको हरियो मल ढैँचाले ८० देखि एक सय ५० केजी नाइट्रोजन प्रति हेक्टर स्थिरीकरण गर्न सक्ने विज्ञहरुको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, आषाढ १४ २०८११०:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार