२०८३, कार्तिक १३ गते शुक्रबार

मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ

मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ


  • मेरोभ्यूज
  • आषाढ १८, २०८१ मंगलबार

  • मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ

    भोजपुर । सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा रु एक ९० लाख बढीको लागतमा विभिन्न संरचना निर्माण हुने भएको छ ।

     टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र सङ्घ सरकारको रु एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँगै तीनवटै तहका सरकारले विकासमा जोड दिएको यस क्षेत्रमा पदमार्ग विस्तार तथा पुनःनिर्माण, स्थानीय वस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालयलगायत संरचना निर्माण गरिने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।

    यसका लागि गाउँपालिकाको रु ४५ लाख, प्रदेश सरकारको रु ५२ लाख १५ हजार, सङ्घीय सरकारको रु १० लाख ५० हजार र स्वीस सरकारको रु ४२ लाख ५० हजार बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए ।

     बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकलाई लक्षित गरेर थप संरचना निर्माण हुने उनले बताए । “मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भने, “पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ ।” गाउँपालिका उपाध्यक्ष रमादेवी राईले आगामी आर्थिक वर्षका लागि प्राप्त भएको बजेटबाट पर्यटन प्रवर्द्धनका लागि थप काम गरिने बताए ।

     मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिए । “

    हाम्रो गाउँपालिका कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको स्थानीय तह भएकाले त्यसलाई लक्षित गरेर योजनाबद्ध विकासमा जुटेका छौँ । मुन्दुम पदमार्ग पर्यटकको प्राथमिकतामा पर्ने गन्तव्यका रुपमा स्थापित हुँदै गएकाले यसको थप विस्तार र व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेर थप लगानी सुनिश्चितता गरिएको छ”, उनले भए ।

    गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गको बृहत्तर विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोत स्थापित गर्ने योजनाको साथ काम गरिरहेको बताए ।

    यो पदमार्गबाट अग्ला हिमशृङ्खला, अग्ला डाँडा, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न थालेको र त्यसलाई थप व्यवस्थित गर्न आफूहरुले जोड दिइरहेको उनले बताए ।

    “मुन्दुम पदमार्ग सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीय क्षेत्र हो”, अध्यक्ष बस्नेतले भने, “यो पदमार्गको थप विकासका लागि हामीले योजनाबद्धरुपमा काम गरिरहेका छौँ ।

     यसलाई गाउँपालिकाको दिगो आम्दानीको स्रोतकारुपमा स्थापित गराउने लक्ष्य छ ।”

    मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

    त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किरात राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चाँैरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गरेका छन् ।


    प्रकाशित : मंगलबार, आषाढ १८ २०८११०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार