म्याग्दी । बेनी नगरपालिका-९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुलेको छैन् ।
“घर अगाडिको बेनी-पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदल यात्रा गर्नु पर्दथ्यो । हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,” उनले भने“ विसं २०५८ तिर खनेको सडकमा २०६५ देखि गाडी चल्न थालेका थिए । गाडी चढेर अर्थुङ्गेको बाटो घुमेर भन्दा छिटो हिँडेर बेनी पुगिने भएकाले पैदल यात्रा गर्दथ्यौँ ।”
बेनी-पाखापानी सडकको बेनीदेखि अर्थु्ङ्गे हुँदै जम्रेनीसम्मको सडक स्तरोन्नतिपछि पैदल हिँड्न छाडेर गाडीमा यात्रा गर्न थालेको सुवेदीले जानकारी गराए ।
जम्रेनीका दण्डपानी जस्तै बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका सडक स्तरोन्नति हुन थालेपछि सहज यातायात सेवामा नागरिकको पहुँच बढेको छ । मार्ग मात्र खुलेका सडकको ग्रेड र घुम्ती मिलेका थिएनन् । सडक साँघुरा थिए । यात्राका क्रममा जोखिम र सास्ती दुवै थियो । त्यसकारण बेनी बजार आसपासका बासिन्दा सवारी साधनको प्रयोग कमै गर्दथे । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यहाँको सडकको समस्या थियो ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको लगानीमा सडक ढलान, कालोपत्र, सोलिङ र ग्राभेल हुन थालेपछि कृषि उपज निकासी, आवतजावत, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको हो ।
सडक यातायातको सुविधाका कारण बेनी नगरपालिको भकिम्लीको राखु, मरेक, बास्कुना, थामडाँडाका किसानले उत्पादन गरेको सुन्तलाले बजार पाएको छ । गत याममा सिङ्गाको बास्कुना, सुर्केमेला र थामडाँडाबाट रु एक करोड पाँच लाख र राखु मरेकबाट रु एक करोड ५० लाख मूल्य बराबरको सुन्तला निकासी भएको किसान रहनुभएका बेनी नगरपालिका-४ का वडा सदस्य सन्दिप खत्रीले बताए ।
सिङ्गा र बास्कुनाबाट दैनिक पाँच सय लिटरका दरले बेनीमा दूध निकासी हुने गर्छ । सडक स्तरोन्नति हुन थालेपछि यात्राअवधि छोटिएको, आवतजावत गर्न सहज भएको र ग्रामीण क्षेत्रमा सम्भावना, अवसर सिर्जना भएको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीका लोकनाथ आचार्यले जानकारी दिए ।
बेनी नगरपालिकाले यसवर्ष उपल्लो तातोपानी बजारसहित छ वटा सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत योजना कार्यान्वयन गरेको छ ।
बेनी बजारमा उपभोक्ता समितिमार्फत सडक कालोपत्र भएको छ । तीन वटा योजना सम्पन्न भइसकेका र तीन वटा निर्माणको अन्तिम चरणमा रहेको बेनी नगरपालिकाका इञ्जिनीयर सुदिप गौतमले जानकारी दिए ।
यी आयोजनाबाट दुई किलोमिटर भन्दा बढी सडक कालोपत्र र ढलान हुने इञ्जिनीयर गौतमले बताए ।
उपभोक्ता समितिमार्फत सञ्चालित ६० वटा सडक योजनाका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको थियो । रु पाँच करोड बजेट विनियोजन भएको छ वटा ठेक्कामार्फत कार्यान्वयन भएका सडक योजनाको निर्माण कम्पनीसँग रु तीन करोड ३६ लाखमा सम्झौता भएको थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले वडाका मुख्य बस्ती जोड्ने सडकमा बाह्ैमहिना नियमित यातायात सञ्चालन हुने बनाउने र बजार क्षेत्रका सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिएको बताए ।
“राष्ट्रिय राजमार्ग र प्रदेश सरकारले काम गरिरहेको बाहेकका सडकलाई नगरपालिकाले स्तरोन्नतिमा जोड दिएको छ,” उनले भने “नगरपालिकाको प्राथमिकता प्राप्त बेनी-पाखापानी सडक आयोजनाअन्तर्गत बेनीदेखि अर्थु्गे हुँदै जम्रेनीसम्म यसै वर्ष भित्र कालोपत्र र ढलान गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।”
योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरी प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । “
नगरपालिकाबाट नियमित अनुगमन गछौँ, हरेक वडामा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ,” उनले भने “उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छौँ ।”
साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी गराए ।
नगरपालिकाले रु पाँच लाखभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गरेको छ । बेनी नगरपालिकाको ६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-पाखापानी सडक स्तरोन्नति गर्ने योजनालाई बेनी नगरपालिकाले प्राथमिकताका साथ निरन्तरता दिएको छ ।
सङ्घीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङमार्फत बेनी नगरपालिका-१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नं २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नं ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको चरणमा छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाले बेनी नगरपालिका- ८ कालिपुलको सडक अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न रु एक करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको छ ।
म्याग्दी प्रवेश गर्ने कालीगण्डकी मोटरेबल पुलदेखि पर्वत बगरफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र गर्न लागिएको आयोजना प्रमुख धु्रवकुमार झाले बताए ।
बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी नगरपालिका-८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने दुई किलोमिटर १०२ मिटर बेनी-गलेश्वर खण्डमा गत पुस महिनामा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको थियो ।
बेनी नगरपालिकामा गण्डकी प्रदेश सरकारमार्फत यस वर्ष दुई वटा ठूला सडक आयोजना कार्यान्वयन थालिएको छ । रु १० करोडको लागतमा बेनी-पाखापानी सडकको भुतेदैला-नेप्टेचौर-तोरीपानी र रु पाँच करोड ५९ लाखको लागतमा बेनी-भकिम्ली सडकको बगरफाँट-दूधेखोला-हल्लेगौँडा क्षेत्रमा स्तरोन्नति गर्ने आयोजना सुरु भएको हो ।
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरी १२ वटा योजनालाई रु चार करोड १० लाख विनियोजन भएको थियो ।
अधिकांश योजना निर्माण सकिएका र केही सम्पन्न हुने चरणमा रहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
नगरपाकिलाका ग्रामीण सडक स्तरोन्नति हुने क्रमसँगै सहज र सर्वसुलभ यातायात सेवाका लागि नगर बस सञ्चालन गर्नु पर्ने नगरवासीको माग छ ।
बेनी नगरपालिका-६ बाँसबोटकी लक्ष्मी पौडेलले ग्रामीण सडकमा चल्ने जीपको तुलनामा सस्तो भाडा दर हुने बस सञ्चालन गर्न नगरपालिकाले अगुवाइ र पहल गर्नु पर्ने बताए । नगरक्षेत्रमा अटोरिक्सा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ ।

