२०८३, कार्तिक १२ गते बिहीबार

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई


  • मेरोभ्यूज
  • आषाढ २३, २०८१ आइतबार

  • शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

    सुनसरी । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेको छ ।

    किसान राईले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएको हो । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएको छ ।

     उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाएको छ ।

    शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने किसान राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको जानकारी दिए ।

     “आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्ररुपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ”, किसान राईले भने,“शिक्षण पेसामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन । आम्दानी नै नभए पनि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन ।” राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् ।

    राईले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहेको छ । राई शिक्षण पेसामा रहेका बेला उनको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिए ।

    धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिए ।

    “पहिले मेरो परिवारमा फूर्सदको समयलाई सदुपयोग गर्दै बाख्रापालन गर्ने गरिएको थियो, त्यसैलाई मैले व्यवसायिक रुप दिएको हुँ । नजिकै जङ्गल भएकाले धेरै सहज भएको छ । यसका साथै आफ्नो जग्गामा अम्म्रिसो खेती पनि गरिरहेको छु”, उनले जानकारी गराए ।

    किसान राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाए । शिक्षण पेसा छाडेर कुनै बेला राईलाई विदेश जाने सोच समेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन ।

    किसान राई भन्छ,“परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन् । विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु । कुनैबेला विदेश जाने सोच समेत नआएको होइन तर विदेश गएर दुःख गर्नु भन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय सुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन । बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ ।”


    प्रकाशित : आइतबार, आषाढ २३ २०८१०८:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार