२०८३, कार्तिक १३ गते शुक्रबार

बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै होम्ताङका स्थानीय

बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै होम्ताङका स्थानीय


  • मेरोभ्यूज
  • श्रावण १६, २०८१ बुधबार

  • बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै होम्ताङका स्थानीय

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्ख्याैली बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको छ ।

    हतुवागढी-६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी-५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिकरुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी-६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउँछ ।

    दसैं, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ । यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए ।

    एउटा नाङ्लो औसतमा रु एक सयदेखि रु एक सय ५० सम्ममा खरिद बिक्री हुने गरेको उनले बताए । “हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्”, व्यवसायी राईले भने, “हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो । सबै जना मिलेर यहाँ उत्पादन भएको नाङ्लो सङ्कलन गरेर बाहिरका बजारमा पठाउँछौं । सरदरमा एक महिनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौं ।”

    मासिक रु २१ लाख बराबरको नाङ्लो बिक्री हुने गरेको छ । गाउँमा नाङ्लो बिक्रीबाट वार्षिकरुपमा रु दुई करोडदेखि रु दुई करोड ५० लाखको हाराहारीमा रकम भित्रिने गरेको बताए । यहाँका एउटा परिवारले मासिकरुपमा न्यूनतम एक सय ५० देखि अधिकतम तीन सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् ।

    चाडवाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ । यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत सहरमा बिक्री हुन्छ । चाडवडका समयमा नाङ्लोको माग बढी हुन्छ । नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यावसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउँछ ।

    नाङ्लो बुनेर घर खर्च चलाउँदै आएकी पूजा राईले आफ्ना घरका सबैजनाले नाङ्लो बुन्ने गरेको बताइन् । एक महिनामा एक सय ५० नाङ्लो बुन्ने गरेको उनले बताइन् ।

    “नाङ्लो घरबाटै एक सय १० रूपैयाँमा बिक्री हुन्छ”, उनले भनिन्, “हामी घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौं, आम्दानीको स्रोत नै यही हो । खेतबारी थोरै छ । प्रायः सबैले व्यावसायिकरुपमा नाङ्लो बुन्दै आएका छौँं।”


    प्रकाशित : बुधबार, श्रावण १६ २०८१०९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार