२०८३, कार्तिक १३ गते शुक्रबार

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला


  • मेरोभ्यूज
  • भाद्र ३, २०८१ सोमबार

  • सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतमा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरु सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् ।

    गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला उद्यममा जोडिएकी हुन् ।

    तालिममा सिकेको सीपको सदुपयोग गर्दै उनीहरुले अहिले घरमा ढाकाका कपडा बुन्दै आएकी छिन् । तालिममा सिकेको कुरालाई व्यावहारिकता दिन अहिले घरमा नै तान राखेर ढाका कपडा बुन्दै आएकी स्थानीय शान्ता श्रेष्ठले बताइन् ।

    आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उनको भनाइ छ । ढाका बुनाइ व्यवसायबाट घर खर्चको जोहो गर्न सहजता भएको उनले बताइन् ।

    “वडामा नै ढाका बुनाइ सीप पाएपछि कपडा बुन्दै आएकी छु”, उनले भनिन्, “चुलोचौका र मेलापात गरेर नै दिन बित्थ्यो, सीप पाएपछि काम गर्न सहजता भएको छ, यहाँबाट आएको पैसाले घर खर्चसँगै आफूलाई आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”

    आफ्नै ठाउँमा सीप लिएर ढाका बुनाइको काम गर्न पाउँदा खुसी लागेको स्थानीय लीला विश्वकर्माले बताइन् । सीपले मानिसलाई जीवन निर्वाहको आधार खडा गर्ने उनले बताइन् । सीप पाएपछि जस्तो परिस्थितिको पनि सामना गर्ने आँट आएको उनको भनाइ छ ।

    सीपले आत्मनिर्भर बन्न सहजता थपेको उनले बताइन । “सीपले जीवन गुजारा गर्न सहजता हुने रहेछ”, उनले भनिन, “सिकेको सीपको सदुपयोग गरेर अहिले घरमा नै ढाका कपडा बुन्दै आएकी छु, दुई चरणको तालिम पाएपछि काम गर्न थप सहज बनेको छ ।” ढाका कपडाको बजारमा राम्रो माग रहेको विश्वकर्माले बताइन् ।

    हातले बुनेको ढाका चोलो कपडा रु एक हजार पाँच सय, सल रु एक हजार दुई सयमा बिक्री गर्दै आएको उनी बताउँछिन् । पाँच महिनासम्म सञ्चालन भएको तालिमबाट चोलो, सर्ट, कुर्थासुरुवाल, सल, खादालगायतका कपडा बुन्न सीप लिएको उनकाे भनाइ छ ।

    स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको अर्की महिला कोपिला प्रधानले बताइन् । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उनको भनाइ छ ।

    “सीप नहुँदा कुनै पनि काम गर्ने साहस थिएन”, उनले भनिन, “घरधन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो, वडाले तालिमसँगै ढाका बुनाइको सामग्री दिएपछि आफैँ स्वरोजगार बनेकी छु, घरको कामलाई पनि ध्यानमा राख्दै कपडा बुन्ने गरेकी छु ।”  

    पहिलो चरणमा सीप लिन इच्छुक यहाँका १४ जना महिलालाई आधारभूत तालिम दिइएको थियो । त्यसैको निरन्तरता स्वरुप दोस्रो चरणमा पुनः उनीहरुलाई अर्को दोस्रो तहको सीप प्रदान गरेपछि उद्यममा जोडिएका हुन् ।

    वडाले यहाँका महिलालाई स्वरोजगारसँगै उद्यमशील बनाउने लक्ष्यले दुई तहको तालिम प्रदान गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । तालिम लिएका महिला अहिले उद्यममा जोडिएको उनको भनाइ छ ।

    महिलाहरुलाई घरायसी कामभन्दा पनि सीपमूलक कर्ममा जोड्नका लागि रचानात्मक काम गरिरहेको वडाध्यक्ष नेपालको भनाइ छ । “हामीले महिलालाई स्वरोजगारसँगै उद्यममा जोड्नका लागि तालिम प्रदान गरेका हौँ”, वडाध्यक्ष नेपालले भने, “सीप लिएसँगै उहाँहरु अहिले उद्यममा जोडिएको अवस्था छ, वडाले रोजगारी सिर्जना हुने खालका काममा प्राथमिकता दिएको छ ।”

    महिलालाई उद्यमशीलतामा जोड्नका लागि सबै वडामा विभिन्न खालका सीपमूलक कार्यक्रम सञ्चालन रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । सीप सिकाएर महिला तथा युवाहरुलाई स्वरोजगारमा जोड्नका लागि गाउँपालिकाले जोड दिएको उनको भनाइ छ ।

    वडासँगको समन्वयमा महिलालाई लक्षित गरेर वडा नं ६ कोटमा दुई चरणको ढाका बुनाइ तालिम, वडा नं ५ खावा र वडा न ७ मा कटाइ सिलाइ तालिम, वडा नं ३ मा तरकारीखेती तालिम, वडा नं ४ नागीमा सेनिटरी प्याडसम्बन्धी तालिम सञ्चालन गरिएको उपाध्यक्ष राईले भनिन् ।

    एकल महिलालाई सातदिने तरकारीखेती तालिम, सीमान्तकृत महिलालाई पशुपालनसम्बन्धी तालिम र ३० जना महिलालाई पालिकास्तरीय बेमौसमी तरकारीखेतीसम्बन्धी तालिम दिएको उनकाे भनाइ छ । “हामीले महिला उद्यमशीलतामा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भनिन्, “महिलालाई लक्षित गरेर वडाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्, भावी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालनमा ध्यान दिन्छौं ।”


    प्रकाशित : सोमबार, भाद्र ३ २०८११२:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार