२०८३, कार्तिक १२ गते बिहीबार

पाक्लिङमा वीस करोडको लागतमा गुम्बा निर्माण

पाक्लिङमा वीस करोडको लागतमा गुम्बा निर्माण


  • मेरोभ्यूज
  • आश्विन ८, २०८१ मंगलबार

  • पाक्लिङमा वीस करोडको लागतमा गुम्बा निर्माण

    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु वीस करोडको लागतमा गुम्बा निर्माण भएको छ ।

    आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।

    विसं २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न लागिएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका इन्जिनियर सुदीप थकालीले जानकारी दिए ।

    “गुम्बाको भवन निर्माण, मूर्ति, सजावट, फर्निचरसहितको सबै काममा पहिलो चरणमा रु वीस करोड लगानी भएको छ,” उनले भने “पाक्लिङलाई बोन धर्मको अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित १५ रोपनी क्षेत्रफलमा पूर्वाधार निर्माण भइरहेको छ ।”

    अस्ट्रेलिया र अमेरिकामा रहेको मुस्ताङ बोन फाउन्डेसनले समाज कल्याण परिषदमार्फत गुम्बासहितका पूर्वाधार निर्माणका लागि मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रलाई सहयोग उपलब्ध गराएको हो ।

    दोस्रो चरणमा गुम्बा परिसरमा रु १८ करोडको लागतमा अस्पताल, बहुउद्देश्यीय सभाहल र अतिथिगृहको भवन निर्माण सुरु भएको छ । तेस्रो चरणमा लामा विद्यालय भवन निर्माणका लागि डिजाइन तयार भएको इन्जिनियर थकालीले जानकारी दिए ।

    सो विद्यालयमा एक/एक सय जना लामा विद्यार्थी र भिक्षुहरुलाई आवासीय सुविधा दिने केन्द्रले जनाएको छ । तिब्बतमा बुद्ध धर्मको प्रचार हुनुअघि नै बोन धर्मको स्थापना भएको र मुस्ताङमा पनि सोही धर्मको प्रभाव रहेको मानिन्छ ।

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले यो गुम्बाले धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको जानकारी दिए ।

    जोमसोम–कागबेनी सडकको एक्लेभट्टी नजिकै गुम्बा रहेको छ । पाक्लिङको छिमेकी गाउँ लुप्राका बासिन्दाहरुले अझै बोन धर्म मान्दै आएका छन् । १४ घरधुरी रहेको लुप्रा गाउँका सबैले बोन धर्म मान्छन् ।

    थासाङको नाउरिकोट र मुक्तिनाथ नजिकैको झारकोटमा पनि बोन धर्म मान्ने दुई/चार घरधुरी रहेको लुप्रामा रहेको योङफुङ फेनलेलिङ गुम्बाका लामा योङडोङ फेनछोक गुरुङले बताए ।

    उनका अनुसार बोन धर्म बुद्ध धर्मअन्तर्गतकै हो । मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले मुस्ताङ बोन फाउन्डेसनको सहयोगमा मुस्ताङका ६५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा एकदेखि स्नातक तहसम्म छात्रावृत्तिमा पठनपाठनको व्यवस्था मिलाएको छ ।


    प्रकाशित : मंगलबार, आश्विन ८ २०८१०८:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार