२०८३, कार्तिक १२ गते बिहीबार

नयाँ पदमार्गबाट तिलिचो ताल पुग्न सकिन्छ

नयाँ पदमार्गबाट तिलिचो ताल पुग्न सकिन्छ


  • मेरोभ्यूज
  • आश्विन १६, २०८१ बुधबार

  • नयाँ पदमार्गबाट तिलिचो ताल पुग्न सकिन्छ

    म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ ।

    समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।

    मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन् ।

    यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो ।

    मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोम–ठिनी–नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, मसोकोन्दो पास हुँदै तिलिचो ताल जोड्ने पदमार्गलाई आन्तरिक पर्यटकले प्रयोग गर्न थालेका बताए ।

    “गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ,” उनले भने “यो पदमार्ग भएर दुई दिनमै पर्यटक तिलिचो ताल जान र आउन थालेका छन् ।”

    म्याग्दी र मुस्ताङका बासिन्दा, कर्मचारी, व्यवसायीहरु जोमसोम हुँदै तिलिचो ताल भ्रमणमा जान थालेका छन् । यो पदमार्ग भएर तिलिचो पुग्न पाँच हजार एक सय २० मिटर अग्लो मेसोकोन्दो पास (झञ्जयाङ)पार गर्नुपर्छ ।

    होटल र रेष्टुरेष्टको सुविधा नभएकाले आफै खाने बस्ने सामग्रीको जोहो गर्नुपर्छ । जोमसोमदेखि दुई घण्टा सवारी साधन र छ घण्टा पैदलयात्रा गरेपछि मेसोकोन्दो पास पुगिन्छ । मेसोकोन्दोदेखि एक घण्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुगिने यसैहप्ता तिलिचो भ्रमण गरेर फर्केका म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीका तुलन बुढामगरले बताए ।

    “उकालो हिडाइको थकान तिलिचो पुगेपछि वरपरका हिमालको बीचमा रहेको निलो र निश्चल तालको दृष्य अवलोकन गर्न पाउँदा मेटियो,” उनले तिलिचो यात्राको अनुभव सुनाए ।

    आर्थिक वर्ष २०८०/०८१ मा घरपझोङ गाउँपालिकाले विभिन्न शीर्षकमा रु ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि रु दस लाख खर्च गरेका छन् ।

    घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको रु २१ लाख ४९ हजार र गाउँपालिकाको थप रु २८ लाख ५८ हजार बजेटबाट वडा नम्बर ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिए ।

    झोर खोलादेखि नमखुलेंक खर्क–निलगिरि आइसफल–छमा ताल पहुँच मार्गको सोचिलेंकसम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताए ।

    एक्यापमार्फत पाँच हजार एक सय २० मिटर उचाईमा रहेको मेरोकोन्दो पास क्षेत्रमा नौ सय ५० मिटर पुरानो पदमार्ग मर्मत र छ सय मिटर नयाँ पदमार्ग निर्माण गरिएको बरिष्ठ रेञ्जर सञ्जोक थकालीले जानकारी दिए ।

    जोमसोम–तिलिचो पदमार्गमा सूचनामूलक साइनबोर्ड, हाइअल्टिच्युड स्थल क्षेत्र, विशेषता, स्थान र उचाइको जानकारीलगायत पर्यटक लक्षित जानकारीमूलक होर्डिङ बोर्ड र साइन पोष्टिङ राखिएको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

    प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङग्रा तथा चौरीको गोठ यस पदमार्गका आकर्षण हुन् ।


    प्रकाशित : बुधबार, आश्विन १६ २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार