गण्डकी । विश्व पर्यटन दिवस–२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना गरेको ‘अनलाइन’ तस्बिर प्रतियोगितामा सिराहाका सुशीलकुमार श्रेष्ठ प्रथम भएको छ ।
उनले खिचेको अन्नपूर्ण आधार शिविरको बिहानीपखको तस्बिरले प्रथम पुरस्कार पाउन सफल भएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का भगवान पौडेलले मदी हिमाल क्षेत्रमा खिचेको डाँफेको तस्बिरले प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको ‘एक्याप’का प्रमुख डा रविन कडरियाले जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–२७ का सूर्य थपलियाको नीलगिरि हिमालको काखमा क्रिकेट खेलिरहेका बौद्धमार्गीहरुको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको उनले बताए ।
विश्व पर्यटन दिवसका ‘एक्याप’द्वारा आयोजित कार्यक्रममा आयोजना प्रमुख डा कडरियाले अनलाइन तस्बिर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु वीस हजार, पन्ध्र हजार र दस हजारसहित प्रमाणपत्र प्रदान गरेको थियो ।
अनलाइनमार्फत प्राप्त भएका दुई सय सात तस्बिरमध्ये श्रेष्ठ, पौडेल र थपलियाले पुरस्कार हात पार्न सफल भएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा खिचिएका तस्बिरलाई प्रतियोगितामा समावेश गराइएको थियो । अन्नपूर्ण क्षेत्रका पर्यटन प्रवर्द्धन हेतु तस्बिर प्रतियोगिताको आयोजना गरिएको प्रमुख डा कडरियाले बताए ।
विश्व पर्यटन दिवसका अवसर पारेर अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणका लागि चाहिने प्रवेशाज्ञा (परमिट) का लागि चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको उनले बताए ।
उक्त सेवाको शुभारम्भ गर्दै उनले सेवाग्राहीले भिषा र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताए । “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलनकक्षमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबिस घण्टा नै सुचारु रहनेछ”, उनले भने, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनु पर्ने बाध्यता हटेको छ ।”
यसअघि ‘एक्याप’ले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरमबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिने गरेको थियो । अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने ‘एक्याप’ले जनाएको छ ।
दिवसका अवसरमा अन्नपूर्ण क्षेत्रमा पर्ने लमजुङको सिमपानी, मनाङको धारापानी, उपल्लो मनाङ, कास्कीको पोथना, वीरेठाँटी, म्याग्दीको शिख, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथ, कागबेनी र लोमान्थाङमा अवस्थित चेकपोष्ट तथा कार्यालयहरुमा पर्यटकलाई खादा, माला र टोपीसहित स्वागत गरिएको थियो ।
पदयात्रा पर्यटनका लागि विश्वप्रख्यात अन्नपूर्ण संरक्षण सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् ।
कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ ।
अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक थिए । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।
अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नै पर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्र मै पर्छ ।

