२०८३, कार्तिक १२ गते बिहीबार

पर्यटक सूचना केन्द्र सञ्चालन

पर्यटक सूचना केन्द्र सञ्चालन


  • मेरोभ्यूज
  • कार्तिक ३, २०८१ शनिबार

  • पर्यटक सूचना केन्द्र सञ्चालन

    म्याग्दी ।  मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो ।

    लोमान्थाङ भित्रने पर्यटकहरूलाई ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल, संस्कृति, जैविक विविधता, वन्यजन्तु, पक्षी, भौगोलिक विविधतालगायतका विषयमा जानकारी गराउने उद्देश्यले केन्द्र सञ्चालन गरेको एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बताए ।

    “ऐतिहासिक बस्ती लोमान्थाङमा आउने पर्यटकलाई यहाँको विविध पक्षका बारेमा जानकारी लिन सहज होस् भन्ने उद्देश्यले सूचना केन्द्र सञ्चालन गरिएको हो,” उनले भने, “केन्द्रबाट पर्यटकहरूलाई गन्तव्य, आवास सुविधाको विषयमा पनि परामर्श र सूचना उपलब्ध गराउँछौँ ।”

    एक्यापका कर्मचारी रहने केन्द्रमा लोमान्थाङ र आसपासका ठाउँको भौगोलिक नक्सा, ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल, गुफा, गुम्बा, कला, संस्कृति झल्कने तस्बिर, त्यसको महत्त्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ ।

    कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण तथा समन्वय गर्नेछन् । माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण हो ।

    माटोको पर्खालभित्र करिब दुई सय घरधुरी रहेको यहाँको बस्ती करिब छसय वर्ष पुरानो भएको वडाध्यक्ष ढुढुके बिष्टले बताए ।

    मुस्ताङी राजा आमे पालले इस १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् ।

    पन्ध्रौ शताब्दीमा निर्माण भएको थुप्तेन, छ्योदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङ्का र मूर्तिहरू छन् ।

    विसं २०८१ को वैशाखदेखि भदौसम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका (एक्याप) लोमान्थाङको तथ्याङ्क छ ।

    सन् २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए । सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

    सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।

    लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साबिक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।

    उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर दस दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दस दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ ।


    प्रकाशित : शनिबार, कार्तिक ३ २०८११०:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार