काठमाडौँ । बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत लामा खेन्नो हालै सार्वजनिक भएको छ ।
यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम छिरी शेर्पा’मार्फत रिलिज गरेका हुन् ।
नेपाली संगीत क्षेत्रमा प्रतिष्ठित संगीतकार न्ह्यू बज्राचार्यले संगीतबद्ध गरेको यस गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ । गीतले बौद्धमार्गी आस्था, गुरु शिष्यको निष्ठा र गुरुको महत्वलाई विशेष आदरका साथ चित्रण गरेको छ ।
गीतमा ‘लामा’ भनेको गुरु वा शिक्षकलाई जनाउँछ भने ‘खेन्नो’ले गुरु, मलाई बचाउनुहोस् भन्ने अर्थ व्यक्त गर्दछ । यस गीतमा शिष्यले गुरुको शरणमा पुग्दै, मार्गदर्शन र संरक्षणको याचना गरेका छन् ।
गुरुको महिमा, शिक्षाको महत्व र गुरुको शरणमा बाँच्नु पर्ने सन्देश गीतमा समेटिएको छ ।
आध्यात्मिक जीवनमा गुरुको अपरिहार्य भूमिका र साँचो शान्ति र मोक्ष प्राप्त गर्न गुरु शिक्षाको आवश्यकता रहेको भाव यसमा अभिव्यक्त गरिएको छ ।
गोपाल रसाइलीले यस गीतमा नेपाली र तिब्बती सांगीतिक धुनहरुको सुन्दर संयोजन गरेका छन् ।
गीतले सुगम संगीत र भक्ति भावको उत्कृष्ट मिश्रण प्रदान गरेको छ, जसले सबै उमेर समूहका श्रोता र दर्शकलाई आकर्षित गर्न सक्छ । मिलन शंकरले छायाँकन गरेको यस भिडियोलाई बिभोर पोखरेलको सम्पादन र निर्देशनमा तयार पारिएको हो । यसअघि खेन्पो पेम छिरी शेर्पाले मनु बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।
खेन्पो पेम छिरी शेर्पा नेपालको गौरीशंकर गाउँपालिका-७, मार्बु, दोलखामा जन्मिएका हुन् ।
दस वर्षको उमेरमा उनी दक्षिण भारतको कर्नाटक राज्यमा बौद्ध धर्मको अध्ययन गर्न गए र त्यहाँ १८ वर्षसम्म अध्ययन गरी बौद्ध दर्शनमा विद्यावारिधी गरे । सन् २०१२ देखि उनले नेपाल र अन्य विभिन्न देशमा बौद्ध धर्मको सेवा र शिक्षा प्रदान गर्दै आइरहेका छन् ।
लामा खेन्नो गीतले केवल भक्ति भाव मात्र होइन, जीवनमा गुरुलाई आदर्श मान्न प्रेरणा दिन्छ । गुरु शिष्यको सम्बन्ध, समर्पण र गुरुको आशीर्वादले जीवनलाई उन्नतिको बाटोमा लैजान्छ भन्ने सन्देश यस गीतको मूल उद्देश्य हो ।

