२०८३, कार्तिक १२ गते बिहीबार

विपदबाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र

विपदबाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र


  • मेरोभ्यूज
  • मंसिर १५, २०८१ शनिबार

  • विपदबाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र

    पर्वत । मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ ।

    युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर स्टेशन) स्थापना गरेको हो ।

    मौसमको पूर्वानुमान गरी नागरिकलाई सम्भावित जोखिमबारे समयमा जानकारी दिने उद्देश्यले स्टेशन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

    यसबाट विशेगरी वायुमण्डलीय अवस्थाका विभिन्न पक्षहरूको मापन, निगरानी र विश्लेषण गरी नागरिकलाई समयमा सूचना प्रवाह गरिने मोदी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत दिपक शर्माले जानकारी दिए ।

    उनका अनुसार पाँच लाख ५० हजार रुपैयाँको लागतमा मौसम सूचना केन्द्र स्थापना भएको हो । यसले मुख्यगरी तापक्रम मापन गर्ने, हावाहुरीको गति र दीशाका बारेमा जानकारी दिनुका साथै वर्षा र आर्द्रता मापन गर्नेछ ।

    साथै जलवायु अध्ययन, आपतकालीन पूर्व सूचना प्रदान गर्न सहयोग पुग्ने शर्माले बताए । यो सूचना केन्द्रलाई जल तथा मौसम विज्ञान विभागका विभिन्न भागमा रहेका जलवायु मापन केन्द्रहरूसँग समन्वय गरी दैनिकरूपमा एकीकृत विवरणहरू उपलब्ध गराउने मोदी गाउँपालिकाले तयारी गरेको छ ।

    केन्द्र स्थापनासँगै विशेषगरी वर्षायाममा हुने बाढीपहिरोका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

    बेमौसममा हुने वर्षा, असिना, चट्याङ र हावाहुरीका कारण कृषि बाली, पशुचौपाया तथा मानवीय क्षति न्यूनीकरण गर्न सकिने भएकाले यसलाई प्रभावकारीरूपमा सञ्चालन गरिने मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए ।

    उनले मोदी गाउँपालिकाका मात्र नभएर आसपासका सबै नागरिकलाई मौसमी विपदबाट सुरक्षित राख्न केन्द्रलाई प्रयोग गरिने उल्लेख गरे ।

    आस्कले युएसएआइडीको सहयोगमा जल र जङ्गल परियोजना सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

    व्यावसायिकरूपमा कृषि क्षेत्रमा लागेका कृषकको प्रोत्साहन र प्रवर्द्धनका लागि मौसमी सूचना प्रणालीको विस्तार गरिएको संस्थाका प्रशासन प्रमुख शिव पोखरेलले जानकारी दिए ।

    उनका अनुसार मोदी गाउँपालिकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासे क्षेत्रमा कार्यक्रम केन्द्रित भएकाले पनि मोदीमा मौसम स्टेशन स्थापना गरिएको हो ।

    यस क्षेत्रका बासिन्दाले विगतमा जस्तो बाढी, पहिरो, चट्याङ, हावाहुरीलगायत प्राकृतिक विपदबाट क्षति व्यहोर्नु पर्ने घटना न्यूनीकरण हुने पोखरेलको दाबी छ ।

    पालिकाले सबै वडाका नागरिकको मोबाइल नम्बर सङ्कलन गरी मौसमको पूर्वानुमान र सम्भावित जोखिम बारे एसएमएस (खबर) प्रवाहसमेत गर्ने जनाएको छ ।

    मोदीमा गत वर्षमा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको थियो भने धेरै सङ्ख्यामा पशुचौपायाको क्षति भएको थियो ।

    त्यसैगरी गत वर्षायाममा गाउँपालिकाभित्रका झण्डै दुई दर्जन बढी परिवार बाढीपहिरोका कारण विस्तापित बनेका थिए भने पर्वतमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको थियो ।


    प्रकाशित : शनिबार, मंसिर १५ २०८११०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार