२०८३, कार्तिक १२ गते बिहीबार

मुना मालिकाको प्रवर्द्धनका लागि पहल

मुना मालिकाको प्रवर्द्धनका लागि पहल


  • मेरोभ्यूज
  • माघ ८, २०८१ मंगलबार

  • मुना मालिकाको प्रवर्द्धनका लागि पहल

    म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचार-प्रसार नहुँदा ओझेलमा छ ।

    हिमशृङ्खला, सूर्योदय, पहाडि भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने यो स्थान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ । प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचार-प्रसारको अभावमा मुना मालिकामा पर्यटकीय गतिविधि बढ्न नसकेका गाउँपालिका-३ का वडाअध्यक्ष देवेन्द्र रोकाले बताए ।

    उनकाअनुसार यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । साथै म्याग्दी र बागलुङका बस्ती, बादल र पहाडको लुकामारी हेर्न पाइन्छ ।

    मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे)को बासस्थान पनि भएको वडाअध्यक्ष रोकाले जानकारी दिए ।

    मुना मालिकामा हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यस क्षेत्रमा जालिका, मालिका र कालिका देवीको थान रहेका छन् । बुद्ध पूर्णिमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

    मालिका गाउँपालिकाको देविस्थान र धवलागिरिको मुनाका बासिन्दा यहाँ पूजाआजाका लागि आउने गर्छन् । पहिले यहाँ धार्मिक मेला र ठेलो फाल्ने प्रतियोगितासमेत हुने गरेको जानकारहरू बताउँछन् ।

    यो मुनाका कृषकहरुको गाईभैंसी र भेंडाबाख्रा चरिचरन गराउने महत्वपूर्ण क्षेत्र पनि हो ।

    धवलागिरिको केन्द्रसमेत रहेको मुनादेखि पाँच घण्टा उकालो यात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । यहाँ होटल तथा रेष्टुरेण्ट नभएकाले पाहुना, पर्यटक र भक्तजनले खाने र बन्दोबस्तीका सामान आफैँ लैजानुपर्ने हुन्छ । पछिल्लो समय यहाँको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले चासो देखाउन थालेको छ ।

    धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, वडाअध्यक्ष रोकासहित जनप्रतिनिधि, पर्यटन कर्मी, सञ्चार कर्मी, स्थानीयवासी र गाउँपालिकाका कर्मचारीहरुको टोलीले केही दिनअघि मुना मालिकामा पुगेर पर्यटन प्रवर्द्धन कार्यक्रमसमेत गरिएको थियो ।

    यस बाहेक यहाँ सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु वीस लाख र गाउँपालिकाबाट रु १५ लाख बजेट विनियोजन गरिएको छ । यसको कार्यान्वयनबाट यहाँको विकासमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।

    सडक निर्माणपछि एक घण्टाभन्दा कम समयमा यहाँ यात्रा गर्न सकिने वडाध्यक्ष रोकाले जानकारी दिए ।

    यात्राअवधि र बाटो छोट्याउन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ ।


    प्रकाशित : मंगलबार, माघ ८ २०८११०:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार