म्याग्दी । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् ।
सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएको बताउँदै सन् २०२४ मा चार हजार ६१ विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेको जानकारी दिए ।
उनका अनुसार सडक सञ्जाल विस्तार, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, प्रचार-प्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल सञ्चालन, अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरुलगायत कारणले यहाँ पर्यटक आगमन बढेको हो ।
सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका एक्याप कार्यालयले जनाएको छ ।
सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ विदेशी नागरिक यहाँ पुगेका कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमा अवस्थित छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को साविक छुसाङ गाउँ विकास समिति र वारागुङ मुक्तिक्षेत्र-५ को साङ्तालाई सुरक्षा संवेदनशिलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको छ । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।
उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर दस दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दस दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन थप ५० डलरका दरले शुल्क तिर्नुपर्ने एक्यापका प्रमुख पौडेलले जानकारी दिए ।
लोमान्थाङ गाउँपालिका-१ मा पर्ने नेचुङ भन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमतिसहित निर्धारित शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।
निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए ।
निषेधित क्षेत्रमा शुल्कमा केही छुटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको भन्दै पर्यटकको आगमन बढे स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने उनले उल्लेख गरे ।

