२०८३, कार्तिक ११ गते बुधबार

सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना

सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना


  • मेरोभ्यूज
  • माघ २९, २०८१ मंगलबार

  • सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना

    पर्वत । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।

    नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका-१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरेको हो ।   

    सडक स्तरोन्नतीमा रचनात्मक दबाब सिर्जना गर्नका लागि महोत्सवको आयोजना गरिएको जलजला-१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताए ।

    उनका अनुसार महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि मन्त्री, सांसद तथा राजनीतिक दलका नेतालाई सहभागी गराएर सडकको दुरावस्था देखाउने मुख्य उद्देश्य रहेको छ ।

    वर्षेनी झण्डै रु १५ करोडसम्मका सुन्तला उत्पादन हुने भए पनि बजारमा ढुवानी गर्न समस्या भएपछि गाउँलेले यस्तो जुक्ति निकालेको हो । बाँसखर्क जोड्ने वारीवेनी-बगरफाँट-बाँसखर्क सडक स्तरोन्नती हुन नसक्दा गाउँसम्म सवारी साधन पुग्न समस्या भएको छ ।

    ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको अगुवा कृषक जगतबहादुर खत्रीले जानकारी दिए ।

    सुन्तला बिक्रीबाट उनले यस वर्ष मात्रै रु ४० लाख आम्दानी हुने अपेक्षा गरेको छ । सडक सास्तीका कारण ढुवानीमा समस्या रहेको उनको गुनासो छ ।

    उनले भन्यो, “साना खालका बोलेरो जीपमा थोरै थोरै सुन्तला टिपेर बेनी-मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता रहेको छ, यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।” सडकका कारण गन्तब्यमा पुर्याउँदा सुन्तला थिचिने मिचिने र कुहिने समस्या रहन्छ ।

    ढिलोगरी तयार हुने यहाँका सुन्तला माघ दोस्रो सातापछि मात्र बजार पठाउने गरिएको छ । गत वर्ष ढुवानी गर्ने समयमा गाउँपालिकाले सामान्य सडक मर्मत गरेको भए पनि वर्षायामको बाढी पहिरोले सडकमा सवारी साधन चलाउनै नसक्ने अवस्था रहेको अर्का कृषक मेखबहादुर खत्रीले बताए ।

    प्रदेश सरकारदेखि यस क्षेत्रको राजनीतिक नेतृत्वलाई नै गाउँमा उतारेर सडकको दुरावस्थाका बारेमा जानकारी गराइ सडक स्तरोन्नती र कालोपत्र गर्नका लागि बगानमै महोत्सव गरिने भएको छ । महोत्सवमा सुन्तला खेती प्रदर्शन, सुन्तलाका विभिन्न परिकार तथा स्वाद आगन्तुकलाई पस्किने आयोजकको तयारी छ ।

    अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको खुलेको भए पनि घण्टौँ लगाएर साना सवारी साधनमा पुग्नुपर्ने बाध्यता छ । जीर्ण सडकका कारण ठूला ट्रक र टिपर गाउँसम्म जान सक्दैनन् । सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको कृषक खत्रीले गुनासो गरे ।

    ठूला ट्रक तथा कन्टेनरबाट एकै पटक ढुवानी गर्न पाएमा आफूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका काठमाडौंको कालीमाटीका व्यवसायी रमेश ढुङ्गेलले बताए । “यति ठूलो सुन्तला बगानको सहजताका लागि राज्यसमेतले पूर्वाधार निर्माण गरिदिनुपर्दछ”, उनले भने । करिब दस किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको व्यवसायीको गुनासो छ ।

    गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले प्रचार-प्रसार गर्न तथा सुन्तलालाई ब्रान्डीङ गरेर बाहिर निर्यात गर्नुका साथै बगैँचासम्म जाने सडक सुधारका लागि महोत्सव आयोजना गरिएको बताए ।

    यहाँका कृषकले गत वर्ष रु ११ करोड भित्र्याएका थिए भने अहिले क्षेत्रफल र उत्पादन दुवै बढेकाले रु १५ करोडसम्म आम्दानी हुने आकलन गरिएको उनले बतए ।

    बाँसखर्कको अधिकांश सुन्तला काठमाडौं पुग्ने गर्दछ भने केही मात्रामा पोखरा, नारायणगढ र बुटवलमा बिक्री हुने गरेको कृषकले बताएको छ । व्यवसायीले यहाँका सुन्तला बुकिङ्ग गरिसकेका छन् । अन्यत्र याम सकिएपछि मात्र यहाँ सुन्तला टिप्न आउने कृषक सोमबहादुर तिलिजाले बताए ।

    यहाँका दुई सय ५० घरधुरी अन्नबाली छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । हरेक परिवारले न्यूनतम रु पाँच लाखदेखि रु ४० लाखसम्म आम्दानी गर्दै आएका छन् ।


    प्रकाशित : मंगलबार, माघ २९ २०८१०९:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार