२०८३, कार्तिक १३ गते शुक्रबार

राष्ट्रियसभा सदस्य निर्वाचन
नाै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता (सूचीसहित)

नाै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता (सूचीसहित)

सत्ता गठबन्धनका साझा उम्मेदवार, एमाले एक्लै चुनावी मैदानमा


  • मेरोभ्यूज
  • पौष २०, २०७८ मंगलबार

  • नाै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता (सूचीसहित)

    काठमाडाैं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सड्घीय संसद्मा प्रतिनिधित्व गर्ने नाै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी परेको हो ।

    उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।

    सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

    प्रदेशसभाका ९२ र स्थानीय तहका २७२ मतदाता

    माेरङः आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नं १ मा आज आठ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुईले मनोनयन दर्ता गराएकाे प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।

    राष्ट्रियसभाको अन्यतर्फ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत (झापा), एमालेबाट गुरु बराल ( मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा), महिलामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमित्रा भण्डारी (झापा) र राप्रपाबाट रन्जु प्याकुरेल (झापा) रहेका छन् ।

    यसैगरी अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो ।

    राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र स्थानीय तहका २७२ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ । 

    गठबन्धनकाे साझा उम्मेदवारले मनाेनयन गरे

    धनुषाः प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । यस प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि आज जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा छ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी दिनेमा पाँच दलीय सत्ताधारी गठबन्धनबाट सिरहाका खालिद सिद्धिकी र पर्साकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएकाे छ ।

    खालिद जनता समाजवादी पार्टी (जसपा) नेपाल र अर्याल माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । सत्तारूढ दलले गठबन्धन बनाए पनि प्रमुख प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । लोसापाबाट सप्तरीका श्यामसुन्दर सरदार र महोत्तरीकी रूपा यादवले उमेदवारी दर्ता गराए ।

    सरदार प्रदेश सरकारले गठन गरेको दलित विकास समितिको सदस्य समेत छन् । यसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिए । एमाले केन्द्रीय कार्यालयले धनुषाका असर्फी भिनवारको नाम सार्वजनिक गरे पनि अन्तिम समयमा उनको ठाउँमा उसमानलाई उम्मेदवार बनाइएको हो ।

    सत्तारूढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो । प्रदेशसभामा सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सदस्य छन् । यस्तै नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ र नेकपा एकीकृत समाजवादीका १३ सदस्य रहेका छन् । यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका आठ/आठ सदस्य तथा नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना सदस्य छन् ।

    औद्योगिक व्यवस्थापन लिमिटेडमा मतदानस्थल

    हेटाैंडाः माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज हेटौँडा–५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेस र नेकपा (समाजवादी)का एक/एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा समाजवादीबाट गोमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी (नेकपा एमाले)को तर्फबाट गोपाल शाक्य र निरकुमारी कुँवर (निरु दर्लामी)लाई राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । उक्त मनोनयनदर्तापछि अब राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।

    त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए । तामाङ यसअघि भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पनि उम्मेदवार रहेका थिए ।

    भोलि २१ गते उम्मेदवारीमा दाबी विरोधको उजूरी दिने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै २२ र २३ गते उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको बताइएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने पनि निर्वाचन कार्यालयले जनाएको छ ।

    आगामी माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ । मतदानका लागि हेटौँडा उपमहानगरपालिका–८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र प्रदेशसभा सदस्य मतदाता रहनेछन् ।

    राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता रहेका छन् । कूल ११९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कूल २३८ जनामध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जनामात्र मतदाता कायम भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

    त्यस्तै प्रदेशसभाका कूल ११० जना सदस्यमध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मतदाता कायम रहेको कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।

    जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको पाँच हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको चार हजार २६६ मतभार रहेको छ । जसअनुसार बागमती प्रदेशमा कूल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

    दुई मतदान केन्द्र स्थापना

    पाेखराः राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत गण्डकी प्रदेशमा सत्ताधारी गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन् । पोखरा महानगरपालिका–७ पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट अन्य समूहमा तनहुँका सुरेश आलेमगर, महिलातर्फ नेपाली कांग्रेसका तर्फबाट गोर्खाका कमला पन्त र दलितर्फ माओवादीका गोर्खाका भुवन सुनारले उम्मेदवारी दर्ता गराएका हुन् ।

    यसैगरी एमालेका तर्फबाट अन्यतर्फ कास्कीका पुण्यप्रसाद पौडेल, दलिततर्फ स्याङ्जाका अर्जुनकुमार सुनाम र महिलातर्फ नवलपरासीका लीला पोखरेल(थनेत)ले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो ।

    आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको निर्वाचन कार्यतालिका रहेकामा एमालेका उम्मेदवारले बिहान ११ बजे र सत्ताधारी गठबन्धनका उम्मेदवारले अपराह्न २ः३० बजे उम्मेदवारी दर्ता गराएका थिए ।

    सत्तारूढ गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएअनुसार माओवादीले गण्डकीमा दुई सिट पाएको भने नेपाली कांग्रेसले एक सिट पाएको छ । राष्ट्रियसभामा चार वर्ष पदावधि पूरा गरेर जान लागेका सदस्यको रिक्त स्थानमा निर्वाचन हुन लागेको हो ।

    गण्डकीमा माओवादी केन्द्रका अन्य समूहका दीनानाथ शर्मा, दलिततर्फ खिमकुमार विक र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)का शान्तिकुमारी अधिकारीको चार वर्ष पदावधि पूरा गरी आगामी फागुनमा बिदाइ हुने भएकाले उनीहरूको स्थानमा निर्वाचन हुन लागेको हो । प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।

    प्रदेशसभा र स्थानीय तहका मतदाताका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचन सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने व्यवस्था संविधानमा छ । गण्डकीमा प्रदेशसभाका ५९ र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी गण्डकी प्रदेशमा कूल २२९ मतदाता छन् ।

    निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको छ । गण्डकीमा कूल मतभार पाँच हजार ८९२ रहेको छ । संविधानबमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् ।

    लुम्बिनी प्रदेशबाट छ जनाकाे उम्मेदवारी

    देउखुरीः आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला अदालत घोराहीमा मनोनयनका लागि स्थान र समय तोकिएको थियो ।

    सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रलक्ष्मी गैरेले उम्मेदवारी दर्ता गराएकी छिन् ।

    जनमोर्चाका तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराएको अधिकृत थापाले जानकारी दिए । नेकपा एमालेबाट लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती उपाध्याय र दलिततर्फ गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

    लुम्बिनीबाट तीन जनाको पदावधि सकिँदैछ । महिलामा कोमल वली, अन्यमा दुर्गनारायण पाण्डेय र दलितमा रामलखन चमारको स्थानमा पदपूर्ति गर्न निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले जानकारी दिए ।

    महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन लागेको उनले बताए । लुम्बिनी प्रदेशको निर्वाचन घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ ।

    लुम्बिनी प्रदेशसभाका प्रदेशसभा सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख गरी २१५ गरी २९६ मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभा निर्वाचन ऐनको दफा पाँचमा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ ।

    सत्ता गठबन्धनका तीन, एमालेका तीन उम्मेदवार

    सुर्खेतः राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गराएका छन्। माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेका तीन जना र सत्ता गठबन्धन दलबाट तीन जनाले उम्मेदवारी दिएका छन्।

    यो निर्वाचनबाट कर्णाली प्रदेशबाट तीन जना सदस्य चयन हुनेछन्। कर्णाली प्रदेशमा खुला, महिला र अपांगता वा अल्पसंख्यकतर्फको सदस्य पद रिक्त हुँदैछ। हाल प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका रूकुम पश्चिमका खगेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिँदैछ। पुरी र बोगटी नेकपा एमालेका नेता हुन् भने बुढा नेकपा माओवादी केन्द्रका नेता हुन्।

    यसपटक उक्त पदमा एमालेबाट महिलामा जुम्लाकी गंगा थापा महत, खुलामा सुर्खेतका चुँडामणि शर्मा र अपांगता वा अल्पसंख्यक कोटामा दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन्। एमालेले एकलौटी उम्मेदवारी दिएपछि सत्तागठबन्धन दलहरूले भागबण्डा अनुसार उम्मेदवारी दिएका छन्। जसअनुसार कर्णालीमा महिलातर्फ नेपाली कांग्रेस, अपांगतातर्फ माओवादी केन्द्र र खुलामा नेकपा (एकीकृत समाजवादी) ले भाग पाएका छन्।

    महिलातर्फ कांग्रेसबाट सुर्खेतकी दुर्गाकुमारी गुरूङको मनोनयन दर्ता भएको छ। अपांगतातर्फ सुर्खेतकै माओवादी केन्द्रका नरबहादुर विष्ट र खुलातर्फ समाजवादीबाट सल्यानका उदय बोहराले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका उम्मेदवारमध्ये विष्ट यसअघिका संविधान सभा सदस्य हुन्।

    सुदूरपश्चिमबाट छको उम्मेदवारी दर्ता

    धनगढीः सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेको तीन राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज छ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

    धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । खुल्लातर्फको एक सिटमा कांग्रेसबाट कैलालीका नारायणदत्त मिश्र र एमालेबाट डोटीका डिल्लीराज भट्टले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले बताए ।

    यसैगरी महिलातर्फको एक सिटमा एमालेबाट कैलालीकी सन्तोषकुमारी शर्मा थापा र नेकपा एकीकृत समाजवादीबाट कैलालीकै मदनकुमारी शाहले उम्मेदवारी दर्ता गराएका छन् । दलिततर्फको एक सिटमा एमालेबाट बैतडीका नरेश विक र नेकपा माओवादी केन्द्रबाट डडेल्धुराका जगत पार्कीले उम्मेदवारी दर्ता गराए ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताले संयुक्तरूपमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । आगामी माघ १२ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तीन जना सदस्यको निर्वाचन हुन लागेको हो ।

    सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नु हुने नेपाली कांग्रेसका तरादेवी भट्ट, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र नेकपा एमालेका चक्र स्नेहीको कार्यकाल आउने फागुनमा सकिँदै छ । प्रदेशमा यो निर्वाचनका लागि प्रदेशसभा सदस्य ५२ र ८८ पालिका प्रमुखरउपप्रमुख १७५ गरी २२७ मतदाता रहेका छन् ।

    प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकरएक सदस्य रहेका छन् । माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका प्रदेशसभा सदस्य झपटबहादुर बोहराको पद रिक्त छ ।

    यस्तै कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएकाले यो पद पनि रिक्त छ । रावल नेकपा एमालेबाट निर्वाचित भएका थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख/उप प्रमुखको मत भार १८ रहेको छ ।

    List.jpg

    List1.jpg


    प्रकाशित : मंगलबार, पौष २० २०७८०९:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार