सुनसरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन् ।
जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हो ।
राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको अध्यक्ष दाहालले बताए ।
जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे ।
पार्टीले उत्पीडित वर्गको पक्षमा गरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नु बाहेक जनताको पक्षमा अरु कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उनले स्पष्ट गरे ।
आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सहज गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको जानकारी दिए ।
आफूले धेरै नै मेहनत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्याइएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पुरै जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
अभियान टोली आज दिनभरि सुनसरीमा रहनेछन् । आज बर्जु ताल अवलोकन, उखु किसानसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा, कोशी, भोक्राह र मधुवनमा जनभेटघाटलगायतका कार्यक्रम रहेको माओवादी केन्द्र सुनसरीले जनाएको छ ।

