२०८३, कार्तिक १२ गते बिहीबार

कोदोको पिठोबाट बिस्कुट

कोदोको पिठोबाट बिस्कुट


  • मेरोभ्यूज
  • चैत्र ८, २०८१ शुक्रबार

  • कोदोको पिठोबाट बिस्कुट

    म्याग्दी । यहाँको धवलागिरी गाउँपालिका-७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ ।

    धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको सञ्चालक भण्डारीले जानकारी दिए ।

    “कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,” उनले भने “स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजान्छन् ।”

    मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रति दर्जन (१२ वटा) लाई रु. दुई सय ५० र चिनी मिसाएको बिस्कुट प्रति दर्जन रु. एक सय ३० मूल्य कायम गरिएको छ ।

    काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवर्द्धक मानिन्छ ।

    पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको विस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको सञ्चालक भण्डारीले बताए ।

    उनले मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएको छ । सञ्चालक ३७ वर्षीय भण्डारी रोजगारीका लागि छ वर्ष मलेसिया, दुई वर्ष कतार, दुई महिना साउदी र ४५ दिन युएईमा काम गरेर फर्केका हुन ।

    भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आएका उनले आफ्नै जग्गामा करिब रु. ७५ लाख लगानीमा पूर्वाधार निर्माण गरिरहेको छ ।

    धवलागिरी गाउँपालिका-७ का वडाध्यक्ष अशोक खत्रीले सञ्चालक भण्डारीले बिस्कुट बनाउन थालेपछि कोदोलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएकाले गुणस्तर प्रमाणित गराउन सहजीकरण गरिने बताए ।

    “कोदो खेती कम हुँदै आएको छ, गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानलाई फाइदा पुग्छ,” वडाध्यक्ष खत्रीले भने, “विदेशबाट आयात गरेर गहुँ, जौ र मकैको पिठोबाट बिस्कुट बनाइरहेको अवस्थामा स्थानीय कोदोबाटै बिस्कुट उत्पादन हुन थालेपछि आयात घटाउन पनि सहयोग पुग्नेछ ।”


    प्रकाशित : शुक्रबार, चैत्र ८ २०८११०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार