२०८३, कार्तिक १२ गते बिहीबार

प्रशिक्षण केन्द्र सञ्चालन

प्रशिक्षण केन्द्र सञ्चालन


  • मेरोभ्यूज
  • चैत्र १३, २०८१ बुधबार

  • प्रशिक्षण केन्द्र सञ्चालन

    बागलुङ । बागलुङमा रु. पाँच करोड ५० लाखको लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ ।

    चार जना भूतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो ।

    उनीहरुले बागलुङ नगरपालिका-४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् ।

    प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवाहरुलाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनले जानकारी दिए ।

    बागलुङ, म्याग्दी र पर्वतका युवाहरु बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरुलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको सचिव पुनले बताए ।

    जैमिनी नगरपालिका-३ दमेकका बेलायती सेनाका भूतपूर्व लाहुरे पुनले तीन वर्ष पहिलेबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको जानकारी दिए ।

    डाँडाखेतमा छ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एकसयजना युवाहरुलाई एक साथ राखेर तालिम प्रदान गर्न सकिने पुनको भनाइ छ ।

    उनले भने, “बागलुङ, म्याग्दी र पर्वत क्षेत्रका धेरै युवाहरु लाहुरे बन्न बढी चासो देखाउँछन्, यस क्षेत्रमा कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा अहिले हामीहरुले सञ्चालनमा ल्याएका हौँ, हालसम्म तालिम केन्द्रमा साढे पाँच करोड रुपैयाँ लगानी भइसकेको छ ।”

    अठार वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरु सिङ्गापुर र बेलायती सेनामा भर्ती हुनका लागि योग्य हुने भए पनि तालिममा भने १६ वर्ष पछि नै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

    राना सिङ्गापुर पुलिसबाट अवकाशप्राप्त व्यक्ति हुन । अहिले काठेखोला गाउँपालिका-८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रुपमा खटेका छन् ।


    प्रकाशित : बुधबार, चैत्र १३ २०८१११:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार