बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभइ विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएको छ ।
बाँकेमा अखिल नेपाल महिला (अनेम) संघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेको हो ।
हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने – ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’
जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उनले महिला कमाण्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण गरे ।
अध्यक्ष दाहालले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरुले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताए ।
‘महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन संभव थिएन र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो’ – अध्यक्ष प्रचण्डले भने – ‘यो नेपालसहित संसारभरिकै समानता पक्षधर श्रमजीवी जनताका लागि उर्जाको स्रोत बनेको छ भने सामन्तहरुका लागि आफ्नो हैकम खोसिएकोमा चुनौतिको विषय बनेको छ ।’
अध्यक्ष प्रचण्डले जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदूर, दलित, मधेशी, मुस्लिमलगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पनि पछिल्ला आठ/दश वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको बताए ।
‘कतै न कतै कमजोरी भयो भन्ने महशुस गरेर नै पछिल्लो पटक सरकारको नेतृत्व गर्दा रुपान्तरणको अभियान सुरु गरियो । यसले दलाल बिचौलियाहरु आतंकित र चिन्तित हुन थाले’ – अध्यक्ष प्रचण्डले भने – ‘माओवादी सरकारमा रहिरह्यो भने हाम्रो सेटिङको जालो भत्कने भयो भनेर नै सरकार ढालिएको नेपाली जनताले प्रष्टरुपमा बुझिसकेका छन् ।’
माओवादी नेतृत्वको सरकार कांग्रेस–एमालेले ढालेको नभइ दलाल र विचौलियाहरुले ती दलका केही नेतालाई कब्जा गरेर सरकार ढालिएको उनले स्पष्ट पारे ।
सरकारले अहिले जताततै बेथिति बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विद्युत प्राधिकरणको नेतृत्व हटाउने, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न नदिनेदेखि राष्ट्र बैंकमा आफ्नो अनुकूल गभर्नर ल्याउन अस्वभाविकरुपमा कार्यविधि परिवर्तन गर्नेसम्मका काम भइरहेको जानकारी दिए ।
सरकारको जग नै गलत भएकाले यसले अझ बढी गलत गर्दै जाने खतरा देखेर नै पार्टीले सरकारविरुद्ध खबरदारी अभियान थालेको उनले स्पष्ट गरे । उनले अब आफ्नै वर्ग र समुदायमा फर्केर आफ्नै एजेण्डाको बलमा कसैसँग सहकार्य नगरेर एक्लै निर्वाचन लड्ने सङ्कल्पका साथ अघि बढेको जानकारी दिए ।
रोकिएको अभियान पुनः सुरु
अध्यक्ष प्रचण्डले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान पुनः सुरु गरिएको जानकारी दिए । अभियान नवलपरासीबाट सुरु गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरु गरिएको उनले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा केन्द्रीय आधारइलाकाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा पनि महिला क्रान्तिकारीहरुले त्याग बलिदानका कयौं कृतिमान कायम गरेको बताए ।

