२०८३, कार्तिक ११ गते बुधबार

ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन

ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन


  • मेरोभ्यूज
  • बैशाख २५, २०८२ बिहीबार

  • ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन

    म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ ।

    मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरामार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु. १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो ।

    चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रियामा छन् भने रु. एक करोड दस लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ ।

    झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताए ।

    योजनाहरुमार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भइ बसाइँसराइ घटाउने अपेक्षा गरिएको उनले बताए ।

    सघन सहरी तथा भवन निर्माण योजनामार्फत रु. चार करोड ७५ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत सहरी पूर्वाधार विकास गर्ने कार्यक्रमअन्तर्गत रु. तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका-८ कालीपुलदेखि वडा नं. ७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ ।

    उक्त कार्यलय मार्फत रु. ६५ लाख ३८ हजार ५३ को लागतमा कुहुँ-टोड्के-झि र रु. एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट-दग्नाम-दरमिजा-चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नती योजना कार्यान्वयन भएको छ । योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    स्थानीय पूर्वाधार विकास आयोजनामार्फत रु. चार करोड ७० लाख ३६ हजार दुई सय ५० को लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथी तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।

    आयोजनाका ईञ्जिनियर मनिष अधिकारीले धवलागिरी गाउँपालिका-४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि दुई सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु. ६० लाख बजेट बिनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रीयामा रहेको जानकारी दिए ।

    उनका अनुसार सडक पूर्वाधार विकास कार्यक्रममार्फत पाखापानी-कुइनेमंगले-मल्कवाङ, गलेश्वर-दशमुरे-मौवाफाँट-दग्नाम-दरमिजा-कुइनेमंगले-घ्यासीखर्क सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुले ढलान, पक्की नाला र टेवा पर्खाल निर्माण थालेका छन् ।

    वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममार्फत मौवाफाँट-दग्नाम-दरमिजा-चिमखोला हुदै कुइनेमंगले, कुहुँ-टोड्के हुदै झिँ, अन्नपूर्ण गाउँपालिकाको दोसल्ले-काफलडाडा-नागी, मालिकाको छ्यारछ्यारे हुँदै मङ्गलाको टिकावाङ र बेनी नगरपालिकाको अर्थुङ्गे देउराली-भराले-पुत्लेढुङ्गा सडक आयोजना कार्यान्वयनमा रहेका छन् ।

    रु एक करोड बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिकाको लुलाङ-गुर्जा सडक स्तरोन्नती योजना ठेक्का प्रक्रियामा छ । रु. ५० लाख बजेट बिनियोजन भएको बेनीको मंगलाघाट र बगरफाँट जोड्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सम्बन्धी योजनाको बहुबर्षीय ठेक्का आव्हानका लागि गरिएको प्रस्ताव अर्थ मन्त्रालयले स्विकृत गरेको छैन् ।


    प्रकाशित : बिहीबार , बैशाख २५ २०८२११:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार