काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गरेका छन् । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरुलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिए । ‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ’ मन्त्री पौडेलले सेवाग्राहीसँग भने, ‘तपाईंहरुलाई दिने सेवामा कुनै समस्या कि छैन ।’
मन्त्रीको प्रश्नमा सेवाग्राहीले लामोसमय लाइनमा बसेर भए पनि काम सकेर फर्कने गरेको बताएका थिए । शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताए ।
‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गर्छौं,’ उनले भने, ‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौं ।’ कतिपयले अन्य बाटोबाट ‘नो अब्जेक्सन लेटर’ बनाउँदा विमानस्थलबाट फर्किएको उनको भनाइ छ ।
सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । कर्मचारी अभाव भएकाकारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसिकएको उपसचिव निरौलाको भनाइ छ ।

