२०८३, कार्तिक १३ गते शुक्रबार

गुर्जामा ‘एक घर, एक धारा’

गुर्जामा ‘एक घर, एक धारा’


  • मेरोभ्यूज
  • जेठ १६, २०८२ शुक्रबार

  • गुर्जामा ‘एक घर, एक धारा’

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

    धवलागिरि गाउँपालिकाले रु. एक करोड ३० लाखको लागतमा निर्माण गरेको आयोजनाबाट गुर्जाका दुई सय ५२ घर, स्वास्थ्यचौकी र विद्यालयमा खानेपानीको धारा जडान भएको हो ।

    धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर छन्त्यालले सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिए ।

    “पछिल्लो दुई वटा आर्थिक वर्षमा रु. एक करोड ५० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि फरक-फरक निर्माण कम्पनीसँग रु. एक करोड ३० लाखमा ठेक्का सम्झौता भएको थियो”, उनले भने, “घर-घरमा धारा जडान गरेर खानेपानी वितरण भएपछि गुर्जावासीको दैनिकी सहज भएको छ ।”

    साउनाखोलाको मुहानमा इन्टेकबाट ६३ एमएमको तीन हजार चार सय ८० मिटर मुख्य पाइपलाइनबाट ल्याइएको पानीलाई २५ हजार लिटर क्षमताको रिजर्भ टङ्कीमा सङ्कलन गरेर शाखा पाइपलाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ ।

    खानेपानी वितरणलाई व्यवस्थित, पानीको मितव्ययी प्रयोग र आयोजनाको दीर्घकालीन सञ्चालन गर्न सबै धारामा मिटर जडान गरिएको छ ।

    स्थानीयवासी सुकमाया छन्त्यालले घर-घरमा खानेपानी आपूर्ति भएपछि समयको बचत र सर-सफाइमा सहयोग पुगेको बताए ।

    “यसअघि गाउँभरि चार वटा सार्वजनिक धाराबाट पानी ल्याउन पालो पर्खनुपर्दथ्यो”, उनले भने “घर-घरमा पानी आउन थालेपछि हाम्रो दैनिकी फेरिएको छ ।”

    आर्थिक वर्ष २०७९/८० मा रु. ५० लाख विनियोजन भएको गुर्जा बृहत् खानेपानी योजना कार्यान्वयनका लागि बेनीको बिएण्डडी निर्माण सेवाले रु. ४४ लाख ७८ हजार एक सय १२ मा ठेक्का सम्झौता गरेको थियो । यो वर्ष मुहान, मुख्य पाइपलाइन र रिजर्भ टङ्की निर्माण भएको थियो ।

    आर्थिक वर्ष २०८०/८१ मा रु. एक करोड विनियोजन भएकोमा बेनीको खुसी होम विल्डर्सले रु. ८५ लाख ७८ लाख चार सय ३७ मा शाखा पाइपलाइन, धारा निर्माण र मिटर जडान भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिए ।

    दुई दशकअघि आइएनएफ कार्यक्रममार्फत गुर्जामा निर्माण भएको खानेपानी आयोजनाका संरचनाहरु जीर्ण भएको थियो ।

    सार्वजनिक धारा बन्नुअघि गुर्जावासीले कुवा र मुहानमा गएर पानी ओसार्ने गर्दथे । गुर्जा म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटा वडामध्ये हालसम्म सडक यातायातको सुविधा नपुगेको बस्ती हो ।

    छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको सबैभन्दा दुर्गम र विकट क्षेत्रमा अवस्थित छ ।


    प्रकाशित : शुक्रबार, जेठ १६ २०८२०९:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार