२०८३, कार्तिक १३ गते शुक्रबार

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग


  • मेरोभ्यूज
  • आषाढ ४, २०८२ बुधबार

  • पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

    भोजपुर । रामप्रसाद राई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिकरूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो ।

    लालीगुराँससँगै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताए ।

    पदमार्ग निर्माणले यहाँको व्यापार व्यवसायसँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि टेवा पुगेको उनले बताए ।

    “डाग्बुङ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ”, स्थानीय परिकारको स्वाद लिँदै प्राकृतिक मनोरञ्जन लिन मानिस यहाँ आउने गरेका छन्”, उनले भने ।

    किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको हो । यहाँबाट सगरमाथा, मकालु कञ्चनजङ्गालगायत ठूला हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने भुजेलको भनाइ छ । पदमार्ग निर्माणले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेकाले व्यापार व्यवसाय बढ्दै गएको उनको भनाइ छ । यहाँबाट अग्ला हिमशृङ्लासँगै तराईका सुन्दर भू–भागको अवलोकन सकिन्छ ।

    यो क्षेत्रमा रहेको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको रामप्रसाद राई–१ का वडाध्यक्ष जोगेन्द्र राईले बताए । यसलाई मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण भइरहेको उनको भनाइ छ ।

    आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाएर आर्थिक स्रोतका रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राईको भनाइ छ । यो पदमार्ग निर्माणका लागि हालसम्म करिब रु. ७० लाख बजेट खर्च गरिएको उनको भनाइ छ ।

    “गुँरासको संरक्षणसँगै यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने उद्देश्यले पदमार्ग निर्माण गरिरहेका छौँ”, उनले भने, “यो प्राकृतिकरूपमा निकै सुन्दर क्षेत्र रहेकाले यसको विकासमा हामीले जोड दिएका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”

    पदमार्ग निर्माणमा नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

    हाल ओख्रे बजारबाट करिब सात किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताए । पदमार्गलाई वडा नं. ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना छ ।

    पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चिया खेती विस्तार थालिएको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) निर्माण गरिने, यसलाई बृहत मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।

    “लालीगुँरासको संरक्षणसँगै यो क्षेत्रको बृहत्तर पर्यटन विकासमा जुटेका छौँ”, अध्यक्ष राईले भने, “हाम्रो पालिकामा धेरै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । यी क्षेत्रलाई पर्यटनसँग जोडेर आर्थिक स्रोतका रूपमा विकास गर्ने योजना छ । यो डाग्बुङ पदमार्गलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”


    प्रकाशित : बुधबार, आषाढ ४ २०८२१०:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार