२०८३, कार्तिक १२ गते बिहीबार

विद्यार्थीलाई पढाइसँगै सिप सिकाउँदै

विद्यार्थीलाई पढाइसँगै सिप सिकाउँदै


  • मेरोभ्यूज
  • आषाढ १८, २०८२ बुधबार

  • विद्यार्थीलाई पढाइसँगै सिप सिकाउँदै

    म्याग्दी । बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सिप सिकाउन थालेको छ ।

    माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सिप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिए ।

    “माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सिपमूलक तालिम सञ्चालन भएको छ”, उनले भने, “दक्ष, सिपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सृजना, स्वरोजगार बन्ने सहयोग पुग्ने छ ।”

    बेनी नगरपालिकाका १६ विद्यालयलाई आर्थिक वर्ष २०८१/८२ मा हामी सक्छौँ, हामी गर्छौँ, कार्यक्रमका लागि रु. एक/एक लाखका दरले रु. १६ लाख बजेट विनियोजन गरेका थिए ।

    बाह्रवटा विद्यालयले कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिसकेका र चारवटा सम्झौताको चरणमा रहेका बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकालले जानकारी दिए ।

    पात्लेखेतको दीपक माध्यमिक विद्यालयले च्याउखेती सुरु र अर्थुङ्गेको जामुनाखर्क माध्यमिक विद्यालयले आधारभूत सौन्दर्यकला तालिम सञ्चालन गरेको छ । बेनीको बालमन्दिर माध्यमिक विद्यालयले प्लम्बिङ, नेप्टेचौरको राष्ट्रिय माध्यमिक विद्यालयले कपाल काट्ने, भकुण्डेको अर्जुन माध्यमिक विद्यालयले भित्तेलेखन, अर्जमको रामचन्द्र माध्यमिक विद्यालयले हाउस वायरिङ, भकिम्लीको जयन्ती माध्यमिक विद्यालयले अकबरे खुर्सानी र तरकारी, भिरमुनिको पौलत्स्य माध्यमक विद्यालयले हाते ट्रयाक्टर मर्मत, पुलाचौरको जनकल्याण माध्यिमक विद्यालयले बाँसका सामान बनाउने तालिम सञ्चालन गर्न सम्झौता गरेका छन् ।

    बेनी सामुदायिक माध्यमिक विद्यालयले शैलुन, प्रकाश माध्यिमक विद्यालयले हाउस वायरिङ, तोरीपानीको गलेश्वर माध्यिमक विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई फिल्ड सर्वेक्षणसम्बन्धी सिप सिकाउन कार्यक्रम सम्झौता गरेको छ ।

    गलेश्वरको जडभरत संस्कृत, सिङ्गाको धवलागिरि, तातोपानीको सरस्वती र रत्नेचौरको भानु माध्यमक विद्यालयले कार्यक्रम प्रस्ताव पेस गरेका छैनन् ।

    आर्थिक वर्ष २०७९/८० मा दस विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०/८१ र २०८१/८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो ।

    बिहान–बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ ।

    बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब एक हजार विद्यार्थी सिपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।


    प्रकाशित : बुधबार, आषाढ १८ २०८२११:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार