२०८३, कार्तिक ११ गते बुधबार

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र


  • मेरोभ्यूज
  • आषाढ २१, २०८२ शनिबार

  • पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

    बाँके । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ ।

    चनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रुपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेको हो ।

    राप्ती सोनारी गाउँपालिकाको व्यावसायिक चहल-पहल बढ्दै गएको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए ।

    “हुलाकी सडक र पुल बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्, व्यावसायिक कारोबार पनि बढ्दै गएको छ”, उनले भने, “हुलाकी सडक बनेपछि मानिसको आवागमन र चहल-पहल बढ्दै गएको छ, अहिले घरेलु तथा साना उद्योग तथा व्यवसाय पनि फस्टाउँदै गएको छ ।”

    सडक र पुल बनेपछि राप्तीपारी अवस्थित बिनौना, बैजापुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

    बैजापुरमा रहेको प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी र बिनौनामा रहेको धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्ने सर्वसाधारणको सङ्ख्या बढ्दो छ ।

    हुलाकी सडक र राप्ती नदीमा माथि बनेको पुललगायतका पूर्वाधार विकासले सोनारी क्षेत्रका जनताको आर्थिक तथा समग्र सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले जानकारी दिए ।

    नेपालगञ्ज–बघौडा हुलाकी सडक सँगसँगै राप्ती सोनारीको वडा नं. ६ कुण्डादेखि नारायणपुर हुँदै अगैयास्थित पूर्व–पश्चिम राजमार्ग जोड्ने हुलाकी सडकखण्ड विस्तार भएपछि अहिले साना ठूला सवारीसाधन आवागमन पनि बढ्दै गएको छ ।

    नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्ग भन्दा यो हुलाकी सडक छोटो पर्ने भएकाले सवारीसाधनको आवागमन बढ्दो रहेको विष्टले बताए ।

    कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल निर्माण भएपछि गाउँपालिकाको नदी वारि र पारिको सीधा सम्पर्क बनेको राप्ती सोनारी–५ का जमानसिंह वलीले बताए ।

    सडक र पुललगायतका पूर्वाधार विकाससँगै राप्ती सोनारीमा व्यवसायी चहल-पहल आएको उल्लेख गर्दै उनले कृषिको माध्यमबाट जनताको आर्थिक जीवनस्तर उकास्नतर्फ अब स्थानीय सरकारले योजना ल्याउनु पर्ने बताए ।


    प्रकाशित : शनिबार, आषाढ २१ २०८२११:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार