२०८३, कार्तिक १३ गते शुक्रबार

संरक्षणको पर्खाइमा सेल्मे फलाम खानी

संरक्षणको पर्खाइमा सेल्मे फलाम खानी


  • मेरोभ्यूज
  • आषाढ २२, २०८२ आइतबार

  • संरक्षणको पर्खाइमा सेल्मे फलाम खानी

    भोजपुर । नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् ।

    आफ्नै देशमा रहेका फलाम खानी बन्द हुँदा बाह्य मुलुकबाट फलाम आयात गर्नुपर्ने देशको बाध्यात्मक अवस्था छ ।

    यस्तै चपेटामा परेको छ भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ‘सेल्मे फलाम खानी’ ।

    वि.सं. २०१३ सम्म सञ्चालनमा रहेको सेल्मे फलाम खानी अहिले बन्द छ ।

    करिब एक सय ५० वर्षको इतिहास बोकेको यो खानी अहिले बन्द अवस्था छ ।

    बन्द भएको लामो समयपछि अहिले यो फलाम खानी सञ्चालनका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीयवासीले माग गरेका छन् । दशकौँ अघिसम्म यहाँका कालिगडले यहीँ उत्पादन भएको फलामबाट सामग्रीहरु बनाउँदै आएका थिए ।

    यहाँको फलाम खानी बन्द भएपछि अन्यत्रबाट ल्याइएको फलाममा निर्भर बन्नुपर्ने अवस्था रहेको स्थानीय कालीगडहरु बताउँछन् ।

    राज्यले आवश्यक सम्भावनाको खोज अनुसन्धान गरेर यहाँको खानी सञ्चालन गरिदिए सहजता हुने उनीहरुको भनाइ छ ।

    सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामासमेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारहरु बताउने गर्दछन् ।

    सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकोले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीय कालीगड मनकुमार विश्वकर्मा बताउँछन् ।

    सेल्मेको फलाम उत्कृष्ट मानिने उनको भनाइ छ । यहाँको फलाम खानीलाई सञ्चालनमा ल्याउनसके स्थानीयको आर्थिक अवस्थामासमेत सुधार आउने विश्वकर्माको भनाइ छ ।

    “राज्यले सेल्मे फलाम खानीको सञ्चालनका लागि अध्ययन अनुसन्धान गर्न आवश्यक छ”, उनले भने । यहाँ फलाम उत्खनन गरिएका खाल्डाहरुसँगै फलामका धाउ तथा किट अहिले पनि देख्न सकिन्छ ।

    यहाँको फलामलाई निकै उत्कृष्ट फलामका रुपमा लिइन्छ । यहाँका फलामबाट सयौँ वर्षअघि निर्माण गरिएका सामग्री अहिले पनि गाउँघरमा पाइन्छ ।

    अग्रजहरुले यहीँको फलाम प्रयोग गरेर कालीगड पेसा गरिरहेको भए पनि अहिलेको पुस्ताले बाहिरको फलाम खरिद गरेर पेसा धान्नुपर्ने अवस्था रहेको विश्वकर्मा बताउँछन् ।

    सेल्मे गाउँका धेरैले व्यावसायिकरुपमा कालीगड पेसा गर्दै आएको भए पनि विभिन्न समस्याका कारण पेसा छोड्नेको सङ्ख्या बढ्दै भएको उनको भनाइ छ । यो खानी सञ्चालन भए स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने उनको भनाइ छ ।

    सेल्मेमा उत्खनन गरिएको फलाम निकै उत्कृष्ट रहेकाले अहिले पनि गाउँघरमा यहाँका फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगड हर्कराज विश्वकर्माले बताए । आफ्ना पुर्खाले यही नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ ।

    भोजपुरे खुकुरी, भोजपुरको गौरव रहेकाले यहीँको फलामको प्रयोग गरेर उद्योग सञ्चालन गर्न सकिने अर्का कालीगड तीर्थकुमार विश्वकर्माको भनाइ छ ।

    यहीँको फलाम प्रयोग गरेर खुकुरी बनाउन सके भोजपुरको पहिचानलाई विश्वसम्म पुर्याउनमा सहयोग पुग्ने उनको धारणा छ ।

    “भोजपुर खुकुरीले चिनिएको जिल्ला हो”, उनले भने, “यहाँ धेरै प्रकारका भोजपुरे खुकुरी बन्छन् । विडम्बना यहाँको फलाम खानी बन्द हुँदा आयातित फलामबाट बनाउनुपर्ने अवस्था छ । यहिको फलामबाट बनाउने हो भने यसले छुट्टै महत्व झल्काउने थियो ।”

    सेल्मे क्षेत्रका करिब नौ परिवारले अहिले पनि व्यावसायिकरुपमा कालीगड पेसा गरिरहेको छन् । “बाजेबराजुले यहिको फलामबाट आरन उद्योग सञ्चालन गर्नु हुन्थ्यो”, उनले भने, “हाम्रो पालोमा आउँदा खानी बन्द भएको अवस्था छ ।”

    तीन/चार पुस्ताअघि अर्थात् करिब एक सय ५० वर्षअघिदेखि फलाम खानी सञ्चालन भएको र करिब २०१३ सालसम्म सञ्चालनमा रहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए ।

    उनका अनुसार यहाँको सेल्मे, देवी खोला, छोक्लालगायत स्थानमा फलामको धाउ पाइन्छ । सेल्मे क्षेत्रमा रहेको फलाम खानीलाई पुनःसञ्चालन गर्न सकिएमा हजारौँलाई रोजगारी दिन सकिने सम्भावना रहेको उनको भनाइ छ ।

    अहिले पनि यहाँको फलामबाट बनेका खुकुरी, कृषि औजार, कट्टी, खुर्पालगायतका साम्रगी गाउँघरमा भेटिन्छ ।”

    देशकै सम्पत्तिका रुपमा रहेको सेल्मे फलाम खानीलाई सञ्चालनका लागि राज्यले ध्यान दिन जरुरी रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । यो फलाम खानी सञ्चालनको लागि प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।

    “यो खानी सञ्चालनका लागि वडा तहबाट काम गर्न सकिने अवस्था छैन”, उनले भने, “हाम्रो तहबाट राज्यको निकायमा यहाँको सम्भावनाको विषयमा जानकारी गराइरहेका छौँ । यसलाई सञ्चालनमा ल्याउनसके भोजपुरको मात्र नभएर देशको आर्थिक अवस्थामा टेवा पुग्ने देखिन्छ ।”


    प्रकाशित : आइतबार, आषाढ २२ २०८२०८:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार