२०८३, कार्तिक १२ गते बिहीबार

खोल्साको टिम्मुरबाट आम्दानी

खोल्साको टिम्मुरबाट आम्दानी


  • मेरोभ्यूज
  • आषाढ २३, २०८२ सोमबार

  • खोल्साको टिम्मुरबाट आम्दानी

    म्याग्दी । म्याग्दीका किसानले ख्यालख्यालैमा सुरु गरेको टिम्मुरखेती यहाँका किसानहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ । यहाँका गाउँमा किसानले कतै बिरूवा उमारेर टिम्मुरखेती गरेका छन् भने कतै खोल्साखाल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिकरूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आम्दानी गरिरहेका छन् ।

    आयुर्वेदिक चिकित्सामा टिम्मुरलाई धेरै रोगको औषधि मानिन्छ । यसको अचारले खानाका परिकारलाई स्वादिष्ट बनाइदिन्छ । त्यसैले बजारमा टिम्मुर प्रतिकिलो आलोमा रू. तीन सयदेखि पाँच सय र सुकाएको रू. एक हजार पाँच सयदेखि रू. दुई हजारसम्म बिक्री हुने गर्दछ ।

    यस्तो बहुउपयोगी टिम्मुरको महत्व बुझेपछि यहाँका किसानले व्यावसायिकरूपमा नै टिम्मुरखेती सुरु गरेका हुन् । पाखो जग्गामा मात्रै होइन खेतीयोग्य जग्गामा समेत टिम्मुर लगाएका कृषकले टिम्मुरको फल बिक्री गरेर वार्षिक रू. दुई लाखदेखि रु. सात लाखसम्म आम्दानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन् ।

    जिल्लाका सबैजसो स्थानीय तहमा टिम्मुरखेती हुन्छ । यहाँका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका लेकाली तथा बेसी क्षेत्र र बेनी नगरपालिका-३ भकिम्ली, वडा नं. ९ घतान, तोरीपानी र वडा नं. १० पात्ले खेतलगायत ठाउँमा व्यावसायिकरूपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले टिम्मुरखेती यहाँका कृषकहरूको लागि आम्दानीको माध्यम बन्दै गएको बताए । उनका अनुसार जिल्लामा वार्षिक करिब तीन हजार के.जि. टिम्मुर उत्पादनको सम्भावना रहेको छ ।

    टिम्मुरखेतीको व्यावसायिक उत्पादन गरिरहेका अगुवा कृषक लालबहादुर घर्तीले टिम्मुर ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ लोकोक्तिसँग मिल्ने महत्वपूर्ण वनस्पति भएको बताउँछन् ।

    उनले नर्सरी स्थापना गरेर टिम्मुरका बिरूवा बिक्री गर्दै आएको छ । टिम्मुर बिक्री गरेर गतवर्ष रू. चार लाख ८६ हजार आम्दानी गरेका घर्तीले यसवर्ष टिम्मुरखेती विस्तार गरेको बताए ।

    डिभिजन वन कार्यालयका अनुसार जिल्लामा वीस वटा समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको छ । जेठमा फल लाग्न सुरू हुने यो वनस्पति भदौ-असोजमा पाक्ने गर्छ र टिपेर सुकाएपछि बिक्रीका लागि योग्य हुन्छ ।

    म्याग्दीमा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।


    प्रकाशित : सोमबार, आषाढ २३ २०८२०९:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार