२०८३, कार्तिक १३ गते शुक्रबार

वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’

वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’


  • मेरोभ्यूज
  • आषाढ ३२, २०८२ बुधबार

  • वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’

    भोजपुर । यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ ।

    यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो ।

    रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु. सात लाखको लागतमा करिब आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।

    यहाँ वडा र नेपाल जलवायु अनुकूलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको छ ।

    यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको छ ।

    यो क्षेत्र प्राकृतिक हिसाब निकै सुन्दर भएकाले यो क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।

    यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पुर्याउने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।

    पदमार्ग निर्माणको काम दुई खण्डमा भइरहेको छ । दोस्रो खण्डअन्तर्गत भञ्याङ शङ्खेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ ।

    शङ्खेश्वरीमा निर्माण भइरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उनको भनाइ छ ।

    यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढ्ने स्थानीयवासी दिककुमार जोगीले बताए । यो क्षेत्रमा गुराँस राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटक आउने उनको भनाइ छ । यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाइने उनले बताए ।

    “यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुनसकेको थिएन, अहिले पदमार्ग निर्माणको थालनीपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ”, उनले भने ।

    वडाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि थालेको काम राम्रो रहेको स्थानीयवासी महेन्द्र राईले बताए ।

    यस क्षेत्रमा रहेको गुराँस संरक्षणको काम गरिरहेको उनको भनाइ छ । “यो पदमार्गको मुख्य आकर्षण गुराँस हो, हामीले यहाँको गुराँस संरक्षण गरिरहेका छौँ । यहाँबाट विभिन्न हिमशृङ्खलाको एक साथ अवलोकन गर्न सकिन्छ”, उनले भने ।


    प्रकाशित : बुधबार, आषाढ ३२ २०८२११:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार