२०८३, कार्तिक १२ गते बिहीबार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क’

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क’


  • मेरोभ्यूज
  • श्रावण ७, २०८२ बुधबार

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क’

    म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ ।

    नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ ।

    नेपाल सरकारको देशभर दस वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत रु. तीन करोड १९ लाखको लगानीमा बेनीबजारस्थित चक्रपथ स्तरोन्नतिको काम पूरा भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।

    बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म करिब नौ सय मिटर लम्बाइ र पाँचदेखि छ मिटर चौडाइको सडकमा नालीसमेत निर्माण गरिएको छ ।

    यसरी बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज भएको र बजार क्षेत्रको भित्री भागमा सवारीसाधनको चाप घटी दुर्घटनाको जोखिम पनि कम भएको नगरप्रमुख केसीले स्पष्ट पारे ।

    बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि ‘आरसिसी’ तथा ‘मेसिनरी’ तटबन्ध निर्माणको कामले निरन्तरता पाइरहेको छ ।

    वि.सं. २०७३ मा कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने गरी जल उत्पन्न प्रकोप नियन्त्रण सव–डिभिजन कार्यालय बागलुङले बेनी बजार संरक्षण आयोजना सुरु गरेका थिए ।

    वि.सं. २०७२ मा कालीगण्डकी किनारमा रु. एक करोड ८८ लाखको लागतमा एक सय २४ दशमलव पाँच मिटर र २०७० सालमा ६३ मिटर पक्की पर्खाल निर्माण गरेका थिए ।

    यसैबीच सिँचाइ मन्त्रालयले बेनीबजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेका थिए ।

    कालीगण्डकी र म्याग्दीको सङ्गमस्थलमा रहेको बेनीबजार १७औँ शताब्दीमा बस्ती विस्तार भएको एक ऐतिहासिक एवं रमणीय बस्ती हो । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार १६३१ सालमा पर्वत राज्यको विखण्डन भएपछि पर्वत सातौँ राजा मलेबम मल्लले पर्वत राज्यको राजधानी बेनीमा सारेपछि व्यावसायिक यात्राको सुरुवात र बस्ती विस्तार भएको थियो ।

    अन्नपूर्ण सर्किटअन्तर्गत प्रमुख पर्यटकीय आकर्षण र बासस्थान बनेको बेनी बजार राजधानी काठमाडौँदेखि करिब तीन सय किलोमिटर पश्चिममा अवस्थित छ ।

    सदरमुकाम बेनी र आसपासका क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, चुरैन, मानापाथी र गुर्जासहित एक दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ ।


    प्रकाशित : बुधबार, श्रावण ७ २०८२१०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार