म्याग्दी । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ ।
टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी (चौथो पुस्ता)को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो ।
धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई लक्षित गरेर बिटिएस टावर सञ्चालन भएको धवलागिरि–२ लुलाङका वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए ।
“मुदीमा रहेको बिटिएस टावरको सिग्नल खाल्डोमा रहेको लुलाङको वडा कार्यालय, स्वास्थ्य चौकी, लमसुङ, मरेनी, लुलाङमा राम्रोसँग नटिप्ने समस्या थियो”, उनले भने, “मोबाइलको टावरले नटिप्ने समस्याका कारण सूचना आदान-प्रदानका साथै स्थानीयवासीलाई फोन गर्न टावरले टिप्ने ठाउँमा जानुपर्ने समस्या हटेको छ ।”
गत फागुन पहिलो हप्ता बिटिएस टावर स्थापना भए पनि विद्युत् सुविधाको अभावमा सञ्चालन हुनसकेको थिएन ।
नेपाल विद्युत् प्राधिकरणले गत हप्ता केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेपछि स्थापना भएको चार महिनापछि बिटिएस टावर सञ्चालन भएको हो ।
टावर सञ्चालनका लागि स्थानीयवासी र गाउँपालिकाले खोरियामा उपकरण राख्ने घर बनाएका छन् । खोरिया क्षेत्रमा एनसेललगायत निजी क्षेत्रका कम्पनीहरूको मोबाइल सेवा उपलब्ध छैन ।

