२०८३, कार्तिक १२ गते बिहीबार

एक सय ५७ वर्ष पुरानो नहर

एक सय ५७ वर्ष पुरानो नहर


  • मेरोभ्यूज
  • श्रावण १७, २०८२ शनिबार

  • एक सय ५७ वर्ष पुरानो नहर

     

    म्याग्दी । यहाँको बेनी नगरपालिका-१ अर्जममा एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ ।

    जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा वि.सं. १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो ।

    साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ ।

    उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए ।

    “कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ ।”

    चालु आर्थिक वर्षमा रु. दस लाख विनियोजन भएको योजनाबाट दुईवटा च्याम्बर र एक सय २५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताए । उ

    नका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा हालै एक सय ६८ मिटर लामो दुई सय ५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ ।

    यसअघि वि.सं. २०५१/५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो ।

    बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ । यो योजनाबाट एक सय ८० कृषकको दुई सय १९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए ।

    आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले रु. ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताए ।

    सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारीखेती गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ ।

    महत्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरुसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए ।


    प्रकाशित : शनिबार, श्रावण १७ २०८२०८:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार