म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
ह्युम कन्सल्ट प्रा.लि. प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादनका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो ।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युतगृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युतगृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
“आयोजनाबाट उत्पादित विद्युत् करिब वीस दिनका लागि परीक्षणको रूपमा रहने छ, परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिकरूपमा विद्युत् उत्पादन सुरु हुन्छ”, आयोजना प्रमुख काफ्लेले बताए ।
वि.सं. २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो ।
यस आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माणस्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ ।
आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ ।
एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्याएपछि आयोजनाबाट ढिला गरी विद्युत् उत्पादन भएको हो ।
विद्युतगृहमा दुईवटा टर्वाइन जडान गरेर विद्युत् उत्पादन सुरु भएको छ । रेलेखर्कस्थित निर्माण भएको बाँध क्षेत्रमा पानी थिग्य्राउने पोखरी, अण्डर स्वीच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवेलगायत पूर्वाधार बनाएर तीन हजार पाच सय मिटर लामो पेनस्टक पाइप लाइनमार्फत पानी ल्याएर विद्युतगृहमा खसाली उत्पादन गर्न थालिएको आयोजनाका इलेक्ट्रिकल इञ्जिनियर सुनिलकुमार शाहले जानकारी दिए ।
हरिस्वाँरामा रहेको विद्युतगृहमा पानी खसाल्ने हेड पाच सय दस मिटर उचाइको छ ।
विद्युतगृहबाट दाना सवस्टेशन जोड्ने ३३ के.भि. क्षमताको चार दशमलव तीन किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।
रु. एक अर्ब ३५ करोड वित्तीय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।
यस आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रा.लि. र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रा.लि. इन्डियाले ठेक्का लिएका थिए ।
अक्करे भिर पहाडलाई छिचोलेर पहुँचमार्ग बनाउनु परेको र बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत् उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिए ।
नारच्याङमा यसअघि एक सय दस मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासेट, पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिसकेको छ ।

