२०८३, कार्तिक १२ गते बिहीबार

प्रभावकारी बन्दै कृषक पाठशाला

प्रभावकारी बन्दै कृषक पाठशाला


  • मेरोभ्यूज
  • श्रावण २२, २०८२ बिहीबार

  • प्रभावकारी बन्दै कृषक पाठशाला

     

    म्याग्दी । बेनी नगरपालिका-१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम एकैसाथ बोकेर पस्छन् ।

    सामान्यतया खेतबारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन रहे पनि थापा भने कृषि खेतीको सिकाइका लागि घरेलु कृषि औजारसँगै सिकेका कुरा टिपोट गर्न कापीकलम बोकेर खेतबारीमा पुग्न थालेको हो ।

    गत पुसदेखि आनन्दबगरका २५ जनाले थापाले जस्तै गरी कृषि पढिरहेका छन् ।

    बेनी नगरपालिकाले किसानलाई प्राङ्गारिक उत्पादनको ज्ञान, सीप र क्षमताको विकास गर्न एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेपछि यहाँका किसान साप्ताहिकरूपमा खेतबारीमा सञ्चालन हुने पाठशालामा पढ्न पुग्छन् ।

    आनन्दबगर आइपिएपम कृषक पाठशालामा आबद्ध सदस्यले सामूहिकरूपमा गोँलभेडाखेती गरेका छन् ।

    व्यावहारिकरूपमा उचित बीउको छनोट, नर्सरी र खेती गर्ने जमिनको व्यवस्थापन, बाली लगाउने तरिका, मलजल, गोडमेल र फल उत्पादन भएपछि टिप्नेसम्मका ज्ञान, सीप पाठशालामा सिकाउने गरिएको छ ।

    पाठशालामा बीउ जमाउने र बिरुवा लगाउनेदेखि फल टिप्नेसम्मका ज्ञानका साथै रोगकीराको स्थानीय उपचारका बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान सिक्ने अवसर मिलेको स्थानीय किसान सरिता बानियाँ खड्काले बताइन ।

    “खेती गर्ने आधारभूत सीप सिक्नका लागि आइपिएम कृषक पाठशाला निकै प्रभावकारी भयो, रोगकीराको पहिचान र उपचारको तरिका र उपायसमेत सिक्यौँ”, कृषक बानियाँले भनिन ।

    यहाँका किसानलाई टनेल र खुला ठाउँमा गोँलभेडाखेती गर्न व्यावहारिकरूपमा तालिम दिइएको छ ।

    पुसदेखि शुरू भएको पाठशालामा किसानले सामूहिकरूपमा लगाएको गोँलभेडा अहिले उपभोगयोग्य भएको छ ।

    उत्पादन भएको गोँलभेडा पाठशालामा सहभागी किसानले बाँडेर उपभोग गर्ने र धेरै उत्पादन भएमा बिक्री गर्ने लक्ष्य लिइएको छ ।

    बेनी नगरपालिका-४ डाँडाखेतको गोँलभेडाखेतीमा पनि आइपिएम कृषक पाठशाला सञ्चालन भइरहेको छ ।

    यहाँका किसानले पनि तालिममा सिक्दै सामूहिकरूपमा लगाएको गोँलभेडा अहिले लटरम्म फलेका छन् ।

    खेती गर्ने प्रविधि आधुनिक र रोगकीराको उपचार गर्न अर्ग्यानिक विधिबारे जानकारी पाएपछि यहाँका किसान उत्साहित भएका छन् ।

    एउटा बाली विशेषमा किसानलाई निपूर्ण बनाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो ।

    खेतबारीमा सञ्चालन हुने पाठशालामा किसानको हातबाट बीउ जमाउन तथा बिरुवा रोप्न लगाउने र उनीहरूकै हातबाट गोडमेल र स्याहार गरेर फलेको फललाई उपभोग र बजारीकरणसम्मको काम हुने भएकाले यो पाठशाला निकै उपयोगी बन्दै गएको छ ।

    बेनी नगरपालिकाले यस वर्ष वडा नं. १ आनन्दबगरमा गोँलभेडा, वडा नं. २ गौश्वारामा काउली, वडा नं. ३ भकिम्लीमा अकबरे खुर्सानी, वडा नं. ४ डाँडाखेतमा गोँलभेडा, वडा नं. ६ डम्मरामा कोसेबाली सिमी, वडा नं. ५ पुलाचौर र वडा नं. ९ घतानमा आलुखेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ ।

    हरेक बालीमा १८ देखि २२ हप्तासम्म किसानलाई खेतबारीमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए ।

    “पाठशालामा सहजकर्ताले विषादीरहित उत्पादन गर्न र खेतीबालीमा जैविक मलको प्रयोग बढाउन किसानलाई सिकाएको छ, नगरपालिकाले आइपिएम कृषक पाठशालालाई हरेक वर्ष फरक-फरक ठाउँमा निरन्तरता दिँदै आएको छ, किसानलाई दक्ष बनाएर स्वस्थ बालीको उत्पादन गर्न यो कार्यक्रमले प्रेरित गर्ने अपेक्षा गरेका छौँ”, कृषि अधिकृत ढुङ्गानाले जानकारी दिए ।

    आइपिएम कृषक पाठशाला सञ्चालनका लागि नगरपालिकाले हरेक समूहका लागि रु. एक लाख ५० हजारका दरले बजेट विनियोजन गरेको छ ।

    बेनी नगरपालिकाको आइपिएम कृषक पाठशालामा जिल्लाकै अगुवा किसान सोवित शर्मा, क्षेत्रबहादुर कटुवाल र हरिराम पौडेलले सहजकर्ताका रूपमा काम गरेको छ । हरेक समूहमा साताको एक दिन दैनिक चार घण्टा पाठशाला सञ्चालन हुने गर्छ ।

    पाठशालामा स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाईभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा व्यवस्थापन गर्न व्यावहारिक अभ्याससमेत गराउने गरिएको छ ।

    पाठशालामा तरकारीखेतीसँगै धान, मकै, गहुँलगायत खाद्यबाली, सुन्तला, कागतीलगायत फलफूलमा आइपर्ने समस्या र रोगकीरा व्यवस्थापनमा जैविक विषादीको प्रयोगको सम्बन्धमा समेत किसानलाई सिकाइएको छ ।

    रोगकिराको उपचारमा प्राङ्गाारिक विधि

    बेनी नगरपालिका-६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोगकीराको उपचारमा रैथाने सीप र विधिलाई प्रयोगमा ल्याउन थालेका छन् ।

    पाठशालामा व्यावहारिक ज्ञान, सीपको क्षमता विकास गरेर किसानले खेतीबालीमा लाग्ने रोगकिराको उपचारमा स्थानीय वानस्पतिक विषादी बनाएर प्रयोगमा ल्याएका हुन् ।

    पाठशाला सञ्चालनको लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोगकिराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायतका तितो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका वनस्पति र वस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताइन ।

    ‘‘पहिले खेतीबालीमा केही समस्या भए बजारबाट विषादी किनेर ल्याउने गर्थ्यौँ, अहिले सिमीमा लागेको रोगकिरामा वानस्पतिक झोलको प्रयोग गर्यौँ, समस्या पनि हल भयो, नगद खर्च पनि भएन”, उनले भनिन ।

    वानस्पतिक विषादीको प्रयोगले कृषि उपजसमेत स्वस्थकर हुने गर्छ । पाठशाला सञ्चालनपछि गाउँघरका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोगकीराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हासिल भएको तालिममा सहभागी स्थानीय किसान पशुपति भण्डारी खत्रीले बताए ।

    हरेक साताको बिहीबार चार/चार घण्टाको दरले डम्मरा माझखेत कृषक पाठशाला सञ्चालन हुँदै आएको छ । तालिममा सिमी र बोडीसँगै आलुलगायत खेती र अन्नबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मका सिकाइ भएको स्थानीय कमला परियारले जानकारी दिइन ।

    किसानलाई व्यावहारिक सिकाइका लागि लगाइएको भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिड सिमी, मिटरबोडी, मालेपाटन बोडीखेती गरिएको छ । सिमी र बोडी उत्पादन भएपछि किसानले घरायसी प्रयोगदेखि बिक्री गरेर आम्दानी गर्न थालेका छन् ।

    रासायनिक विषादी

    बेनी नगरपालिकाले पाठशालामा किसानलाई बीउ र जग्गाको छनोटदेखि प्राङ्गारिक बाली उत्पादनमा लाग्ने सीप र ज्ञान आर्जन गर्ने थलो बनेको छ ।

    पछिल्लो समय खेतीबालीमा आउने रोगकिराको उपचारमा सहरबजारमा पाइने रासायनिक विषादीको प्रयोग बढिरहेको र त्यसले किसानदेखि उपभोग गर्ने नागरिकको जनस्वास्थ्यमा ठूलो समस्या ल्याइरहेको सन्दर्भमा आइपिएम कृषक पाठशालामा प्राङ्गारिक खेतीलाई जोड दिने गरिएको सहजकर्ता सोवित शर्माले बताए ।

    “खेतीबालीको रोगकीराको उपचारका लागि बजारमा पाइने विषादी बिख हो, औषधि होइन भन्ने बुझाइ किसानमा बनाउन पाठशालाले निकै भूमिका खेलेको छ, हामीले किसानलाई रोगकीराको पहिचान गरेर स्थानीयस्तरमा बनाउन सकिने जैविक विषादीको प्रयोगका लागि प्रेरित गरेका छौँ, स्वस्थ कृषि उपजले मात्र स्वस्थ नागरिक बन्न सघाउने कुरा बुझाएका छौँ”, सहजकर्ता शर्माले भने ।

    बजारमा अहिले बाहिरबाट आयात गरिएका तरकारी र फलफूलमा प्रतिबन्धित विषादीको प्रयोग गर्ने गरिएको र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने गरेको छ ।

    खेतीबालीमा रोगकीराको महामारी आएको सन्दर्भमा मात्र सुरक्षितजन्य विषादीको प्रयोग गर्ने र प्रयोग गरेपछि कृषि उपजको तत्काल उपभोग नगर्ने सन्दर्भमा समेत किसानलाई जानकारी गराइएको अर्का सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताए ।

    उनले पाठशालामा किसानलाई जैविक विषादी बनाउने प्रयोगात्मक सीप सिकाएकाले नगरपालिका क्षेत्रमा प्राङ्गारिक कृषि उत्पादनको लहर ल्याउन पाठशालाले भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

    किसानलाई कोठाभित्र दिने तालिम औपचारिकतामा सीमित बनिरहेको सन्दर्भमा खेतबारीलाई नै पाठशाला बनाएर सञ्चालन गरिने आइपिएम कृषक पाठशाला किसानलाई व्यावहारिक ज्ञान र सीप विकास गर्ने उपयुक्त थलो बन्न थालेको छ ।


    प्रकाशित : बिहीबार , श्रावण २२ २०८२११:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार