२०८३, कार्तिक १२ गते बिहीबार

प्रथम आधार शिविरमा जाने पर्यटक

प्रथम आधार शिविरमा जाने पर्यटक


  • मेरोभ्यूज
  • श्रावण २४, २०८२ शनिबार

  • प्रथम आधार शिविरमा जाने पर्यटक

     

    म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

    हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो ।

    हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए ।

    हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचार-प्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो ।

    अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् ।

    पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टि-सप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचार-प्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए ।

    उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब दस हजार पर्यटकले भ्रमण गरेका थिए ।

    “यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाएकाले पनि यस क्षेत्रको प्रचार-प्रसार भएको अनुभूति गरेका छौँ”, पर्यटन व्यवसायी गुरुङले बताए ।

    अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए ।

    उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका पर्यटन व्यवसायी गुरुङले बताए ।

    विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारले बताए ।

    “दुई दिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ ।

    हुमखोलाबाट १६ कि,मि. दूरीमा पदमार्ग बनाएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उनले भने ।

    पदमार्गको प्रवेश विन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई/दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्ड ताल परिसरमा होटल सञ्चालन गरेका अजित सेञ्चुरीले जानकारी दिए ।

    पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिकरूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे ।

    पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन् ।

    हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्ड ताल, दर्जनौँ झरना र रमणीय हिमाली भू-बनोट यस पदमार्गका मुख्य आकर्षण हुन् ।

    पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचार-प्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन् ।


    प्रकाशित : शनिबार, श्रावण २४ २०८२०७:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार