२०८३, कार्तिक १२ गते बिहीबार

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी


  • मेरोभ्यूज
  • श्रावण २४, २०८२ शनिबार

  • पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी

     

    म्याग्दी । बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ ।

    खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घर-घरमा धारा बनाइ वितरण गरिएको हो ।

    आर्थिक वर्ष २०७६/७७ देखि निर्माण शुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले बताए ।

    “तीन वटा योजनाअन्तर्गत खानेपानी निर्माण आयोजनाका लागि पर्याप्त बजेट नआउँदा ढिलाइ भएको हो”, उनले भने, “पुलाचौरको तल्लो र मध्य गाउँको योजना यसअघिका वर्षमा सकिएको थियो । माथिल्लो टोलमा यसै सातादेखि पानी वितरण गरेर आयोजनालाई पूर्णता दिएका हौँ ।”

    अध्यक्ष सुवेदीका अनुसार जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सवमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पुर्याएर थप तीनवटा रिजर्भ टङ्कीमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आठ सय मिटर लामो तीन इञ्चको पाइपमार्फत माथिल्लो टङ्कीमा पानी पुर्याइएको उनले उल्लेख गरे ।

    आयोजनाबाट एक सय ८२ परिवार लाभान्वित भएको उपभोक्ता समितिका सचिव सागर पौडेलले बताए ।

    “विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा पनि धारा जडान गरिएको छ । सबैका घरमा मिटरसहितको निजी धारा जडान गरेर पानी वितरणको व्यवस्था मिलाएको छ”, उनले भने ।

    सचिव पौडेलले यसअघि सार्वजनिक धाराबाट गाग्री, बोत्तल र ग्यालीनमा पानी ओसार्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गरे ।

    “आठ/दस घरले एउटा धाराबाट पानी ल्याउँदा पालो पर्खनुपर्ने र कहिलेकाँही पानीका कारणले बिवाद पनि हुन्थ्यो”, स्थानीय मिनाकुमारी विकले भनिन, “घरकै धारामा पानी आउन थालेपछि पानी ओसार्दा हुने समयको बचत र झञ्जट हटेको छ ।”

    उपभोक्ताको श्रमदान बाहेक आयोजना निर्माणमा रु. दुई करोड दस लाख ४८ हजार तीन सय ४८ खर्च भएको खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए । उपभोक्ताले कूल लागतको दस प्रतिशतका दरले श्रमदान गरेका थिए ।

    पानी तान्ने विद्युत् उपकरण सञ्चालन गर्न ‘मोबाइल अपरेटिङ सिस्टम’ जडान गरिएको छ । यो प्रणालीबाट उपभोक्ताले घरबाट पानी तान्ने उपकरण खोल्न र बन्द गर्न सक्छन् । विद्युतीय उपकरण भण्डारण, उपभोक्ता संस्थाको कार्यालय र हेरालुको आवासका लागि भवन पनि निर्माण भएको छ ।

    योजना निर्माणमा प्रतिघर २० दिनका दरले श्रमदान गरेको उपभोक्ता बलबहादुर परियारले बताए । घर-घरमा पानी वितरण हुन थालेपछि पुलाचौरबासीको दैनिकी फेरिएको छ ।

    “पानीको पालो कुर्दा खाना पकाउन ढिला भएर कहिलेकाँही बालबालिका विद्यालय जान नपाउने अवस्था थियो”, उनले भने, “अहिले समयको बचत हुनुका साथै सरसफाइ गर्न सहज भएको छ भने स्थानीयको दैनिकी फेरिएको छ ।”


    प्रकाशित : शनिबार, श्रावण २४ २०८२०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार