२०८३, कार्तिक ११ गते बुधबार

बन्दाखेतीबाट वार्षिक रु. एक करोड भित्रियो

बन्दाखेतीबाट वार्षिक रु. एक करोड भित्रियो


  • मेरोभ्यूज
  • भाद्र ३, २०८२ मंगलबार

  • बन्दाखेतीबाट वार्षिक रु. एक करोड भित्रियो

     

    म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु. एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।

    अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दाखेती गर्न थालेका हुन् ।

    अन्नपूर्ण–७ का वडासदस्यसमेत रहेका कृषक बुद्धिवीर पुनले टिकोटका एक सय परिवारमध्ये अधिकांशले बन्दाखेती गरेका बताए ।

    “गत वर्ष रु. एक करोड बराबरको बन्दा बिक्री भएको थियो”, उनले भने, “यसपाली कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ ।” उनका अनुसार एक जना कृषकले रु. एक लाखदेखि रु. सातलाखसम्मको बन्दा बिक्री गरिरहेका छन् ।

    तीन–चार वर्षअघिसम्म पुनसहित टिका पाइजालगायत पाँच जनाले टिकोटमा बन्दा खेती शुरु गरेका थिए ।

    दुई हजार दुई सय ५० मिटर उचाइमा उच्च पहाडी भूगोलमा अवस्थित टिकोटको बेमौसमी बन्दाले बजार पाएपछि पछिल्लो तीन वर्षयता कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।

    खाद्यबालीको तुलनामा छिटो र नगद आम्दानी हुने भएकाले बन्दाखेती शुरु गरेको टिकोटका कृषक मनराज गर्बुजाले बताए ।

    गत वर्ष रु. एक लाखको बन्दा बेचेको जनाउँदै उनले यस वर्ष १४ रोपनी जग्गामा कोदो र मकैको विकल्पमा बन्दाखेती गरिरहेको उल्लेख गरे ।

    जेठमा लगाएको बन्दा असारको अन्तिम सातादेखि बजार पठाउने हुन्छ । भदौ महिनासम्म बिक्री गर्न मिल्ने गरी यहाँका कृषकले फरक-फरक समयमा बेर्ना सारेका मनराजले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिकिलो रु. ५० का दरले बन्दा बिक्री भएको थियो ।

    टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायत विभिन्न स्थानमा बिक्री हुने कृषक टिका पाइजा पुनले जानकारी दिए ।

    रासायनिक मल र विषादीको प्रयोगबिना तरकारीखेती भइरहेको बताउँदै उनले बिषादीको विकल्पमा गाईभैँसीको गहुँत र गोबर प्रयोग गर्ने गरिएको जानकारी दिए ।

    “रासायनिक मलको विकल्पमा स्याउला, पातपतिङ्गर र गाईवस्तुको गोबर कुहाएर मल बनाउँछौँ”, उनले भने, “प्राङ्गारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छौँ ।”

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोटमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ । पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधिमा सहयोग गरिरहेको गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले बताए ।

    उनका अनुसार चालु आर्थिक वर्षमा रु. १२ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी आ.व.का लागि थप रु. छ लाख रकम विनियोजन भएको जानकारी दिए ।


    प्रकाशित : मंगलबार, भाद्र ३ २०८२१०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार