२०८३, कार्तिक १२ गते बिहीबार

चिन्डेडाँडामा पर्यटकको चहल-पहल

चिन्डेडाँडामा पर्यटकको चहल-पहल


  • मेरोभ्यूज
  • भाद्र ८, २०८२ आइतबार

  • चिन्डेडाँडामा पर्यटकको चहल-पहल

     

    सुनसरी । धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहल-पहल उल्लेख्य रूपमा वृद्धि भएको छ ।

    धरान बजार, इटहरि, चारकोशे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

    गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ गर्न उपयुक्त मानिने यो ठाउँमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।

    धरान, इटहरि, झापा, चितवन, काठमाडौंजस्ता ठाउँबाट आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका हुन् ।

    धरान उपमहानगरपालिका–१६ का सुदिप श्रेष्ठ बेलायतबाट बिदामा घर आएपछि चिन्डेडाँडा पुगे ।

    पहिले नाङ्गो देखिने यो डाँडा अहिले निकै विकास भएको रहेछ, घुम्नका लागि उपयुक्त गन्तव्य बनेको देख्दा आफूलाई खुसी लागेको उनले बताए ।

    उनी भन्छन्, “गर्मीमा यहाँ साथीभाइको चहल-पहल निकै हुन्छ, दृश्य हेर्दै घुम्न रमाइलो लाग्छ ।”

    इटहरिकी सुशीला राई पनि पहिलो पटक चिन्डेडाँडा पुगेकी थिइन । “गर्मीका बेला यहाँको रमाइलो वातावरण र दृश्यावलोकनको आनन्द वर्णन गरेर सकिन्न”, उनी भन्छिन्, “जाडोमा मान्छे कम भए पनि गर्मीमा धेरै नै घुम्न आउने रहेछन् ।”

    पूर्वी पहाडी क्षेत्र र तराईको सङ्गमस्थलजस्तो देखिने चिन्डेडाँडा धरान बजारबाट मोटरसाइकल तथा गाडीमा करिब १५ देखि २० मिनेट र पैदल हिँडेर करिब एक घण्टामा पुग्न सकिन्छ ।

    पहिला उजाड र सुनसान देखिने यस ठाउँमा पर्यटकको चहल-पहल देखिन थालेको करिब दुई दशक भएको स्थानीयको भनाइ छ ।

    पहिले चिन्डेडाँडाबाट प्याराग्लाइडिङ सेवा उपलब्ध थियो, जसले थप पर्यटक तान्ने गर्थ्यो । हाल प्याराग्लाइडिङ बन्द भए पनि त्यही स्थानमा दर्जनौँ होटल तथा खाजाघर खुलेका छन् ।

    स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा चिन्डेडाँडामा दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

    यहाँ आउने पर्यटकले लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, भट्टु धानको भातजस्ता मौलिक परिकार निकै मन पराउने गरेको उनले बताए ।

    खासगरी गर्मीमा यी परिकारको माग उच्च हुन्छ, चिसोयामभन्दा गर्मीयाममा व्यापार पनि राम्रो हुन्छ ।

    खासगरी दिनभरिको छोटो घुमफिरका लागि चिन्डेडाँडा उपयुक्त गन्तव्य बनेको व्यवसायी वसन्ती तामाङ बताउँछिन् ।

    धेरैजसो पर्यटक दुई-चार घण्टा बसेर फर्किन्छन्, तर केही बास बस्ने पनि हुन्छन् । उनका अनुसार गर्मीमा झापा, चितवन, काठमाडौँबाट धेरै नै पर्यटक आउँछन्, तर जाडो लागेपछि सङ्ख्या घट्ने गर्छ ।

    धरानबाट चिन्डेडाँडा पुग्न हाल कच्ची सडक रहेको र वर्षायाम वा जाडो मौसममा आवत-जावत केही असहज हुने गरेको व्यवसायीको गुनासो छ । यद्यपि सर्दुखोलामा पुल निर्माण भएपछि यात्रा केही सहज भएको छ ।

    स्थानीयका अनुसार पहिले धरानबाट उत्तरतर्फ हेर्दा यो डाँडा नाङ्गो देखिने भएकोले चिन्डेडाँडा भन्ने नाम रहन गएको हो भने बाटो हिँड्नेहरूले यहाँ अडिएर रमिता हेर्ने भएकोले स्थानीयबीच यो ‘रमितेडाँडा’का नामले समेत परिचित छ ।

    यस क्षेत्रमा तामाङ, गुरुङ, राई, क्षेत्री, ब्राह्मण समुदायको बसोबास छ । गुरुङ छाप, कार्की छापजस्ता स्थान चिन्डेडाँडा नजिक रहेका छन् ।

    चिन्डेडाँडाभन्दा अलि माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा भ्यू-टावर पनि निर्माण भएको छ । त्यहाँबाट अलि तल पर्यटन व्यवसायी वासुदेव बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालन गरेका छन् ।

    केही पर तामाङ बस्तीमा घरबास (होमस्टे) पनि सञ्चालित छ । चिन्डेडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षण रमाइला स्थल रहेकोले पछिल्लो समय पर्यटनको विकास निकै भइरहेको पर्यटन व्यवसायी बराल बताउँछन् ।

    धरानका नगरप्रमुख हर्कराज राई 'साम्पाङ'को नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा–पारुहाङको प्रतिमा निर्माण गर्ने तयारी भइरहेको छ ।

    प्रमुख साम्पाङका अनुसार प्रतिमा स्थापना भएपछि चिन्डेडाँडा क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिनेछ ।

    स्थानीयको अपेक्षा छ सडक सुधार, प्रचार-प्रसार र थप पूर्वाधार विकास भए चिन्डेडाँडा निकट भविष्यमा धरानको प्रमुख पर्यटकीय गन्तव्य बन्ने छ ।


    प्रकाशित : आइतबार, भाद्र ८ २०८२०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार