२०८३, कार्तिक १३ गते शुक्रबार

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला


  • मेरोभ्यूज
  • भाद्र ८, २०८२ आइतबार

  • छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

     

    कैलाली । छाडा पशु चौपाया व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ ।

    वि.सं. २०७४ मा स्थापना भएको गौशालामा साना-ठूला गरी हाल एक सय ४३ छाडा पशुहरू रहेका छन् । जसमा २७ वटा स्थानीय जातका दूध दिने दुधालु गाई छन् । ती गाईबाट दैनिक ३२ लिटर दूध उत्पादन भइरहेको गौ संरक्षण सेवा समितिका व्यवस्थापक रिता अवस्थीले जानकारी दिए ।

    उनका अनुसार शुरुमा तीन लिटर दूधबाट बिक्री शुरु गरेका थिए । हाल प्रतिलिटर रु. ९० का दरले मासिक रु. ८६ हजार चार सय आम्दानी भइरहेको छ ।

    “केही वर्षदेखि गौशालाबाट गड्यौला मल र गोठेमलसमेत उत्पादन हुँदै आएको छ । यसबाट मासिक रु. ३० हजार आम्दानी हुन्छ । गौशालाको मुख्य आम्दानी विभिन्न गौदान, श्राद्ध, पूजाआजालगायत विभिन्न धार्मिक कार्यक्रमबाट हुने गरेको छ”, गौशाला व्यवस्थापक अवस्थीको भनाइ छ ।

    गौशालामा रहेका छाडा पशु चौपायाको हेर-विचार, स्याहार-सुसारका लागि गौ संरक्षण सेवा समितिले पाँच जना कर्मचारी राखेका छन् ।

    गौशालाबाट भएको आम्दानीबाट मासिकरुपमा रु. ७५ हजार ती कर्मचारीको तलबमा खर्च हुने गरेको छ ।

    यस्तै, पशु आहारका लागि भुसा, पराल, नवीन दाना, चोख्खरलगायत आहारमा खर्च भइरहेको छ ।

    गौशालामा रहेका गाईहरूका लागि पर्याप्त आहारा अपुग छ । पर्याप्त पोषणयुक्त आहारा पुर्याउन सकेको खण्डमा अझै दूध उत्पादनमा वृद्धि गरी आम्दानी बढाउन सकिने व्यवस्थान समूहले जनाएको छ ।

    “सामुदायिक गौशाला भएकोले सरकारी तवरबाट जुन रूपबाट सहयोग हुनुपर्ने हो त्यति सहयोग हुने गरेको छैन”, अवस्थीले भने, “कहिलेकाहीँ धनगढी उपमहानगरपालिका, भटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रलगायत निकायबाट केही सहयोग हुने गरे पनि गौशाला व्यवस्थापनमा त्यसले पुग्दैन । त्यसैले यसको व्यवस्थापनका लागि सहयोग गर्न आवश्यक छ ।”


    प्रकाशित : आइतबार, भाद्र ८ २०८२०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार